चलचित्र निर्माणको घोषणासँगै कलाकार, कथावस्तु अझ मुख्य नायक नायिका कै कुरालाई लिएर सस्पेन्स बनाइएको चलचित्र 'प्रेम गीत ३'का मुख्य अभिनेताको नाम सहित क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । विभिन्न लघु चलचित्रमा काम गरेका, अभिनय विषयमा शैक्षिक योग्यता हासिल गरिरहेका मनिष राउत मुख्य नायकको रूपमा छानिएका हुन् । अघिल्ला दुई सफल सिरिज बनाइसकेको चलचित्रको निर्माण पक्षले यति बेला चलचित्रकी नायिकाको पनि छनौट गरिरहेको छ ।
‘अ फर्बिडन लभ स्टोरी’सब टाइटल दिइएको यस चलचित्र हिमाली भेगको परिवेशमा छायाङ्कन गरिने निर्माण पक्षले जानकारी दिइसकेको छ । चैत्र २८ गते प्रदर्शनमा आउने भनिएको रोमान्टिक सिरिजको छेतन गुरुङ्ग र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गर्दै छन् । चलचित्रलाई सन्तोष सेन र विजय चामलिङ्ग मिलेर निर्माण गर्दै छन् । नायक मनिष राउतको क्यारेक्टर पोस्टर समेत सार्वजनिक गरिएको चलचित्र 'प्रेम गीत ३'मा प्रेमको भूमिकामा भने नायक प्रदीप खड्का नै यथावत् छन् ।