भन्ने गरिन्छ नेपाली चलचित्रको गुणस्तर खस्किँदै गइरहेको छ । एकाध बाहेकका चलचित्र गुपचुप प्रदर्शनमा आउँछन् र केही दिनमै गुमनाम हुन्छन् । यस पछाडि एक मात्र कारण भने छैनन् । चलचित्र बनाएर नाम कमाउने हतारोदेखि, कलाकारको छनौट, निर्देशकको कला, पुँजी र कथावस्तु सबैको उचित समिश्रण नभएर एउटा चलचित्र मात्र नाटक वा भनूँ खेल जस्तो बन्न पुग्छ । यी भित्रबाट चलचित्रको कथा यस्तो चिज हो जसले कलाकारलाई बाँध्ने देखी दर्शकको मन जित्ने सम्मको काम गर्न सक्छ । एउटा सफल चलचित्रको कथा सधैँ उत्कृष्ट हुन्छ, कथा सुन्दर हुन कुनै ठुलो कुरा, ठुलो विषयवस्तु वा ठुलो कल्पनाको आवश्यक पर्दैन । यसको लागी त एउटा सरल अनि बगेको भाव हुनुपर्छ । जसमा दर्शकदेखि अभिनय गर्ने कलाकारले पनि आफू भित्रको कलाकारितालाई बाहिर निकाल्न सक्दो प्रयास गर्न सकोस् ।

चलचित्र एउटा मनोरञ्जनको माध्यम मात्र नभएर समाजको यथार्थलाई विभिन्न कोणबाट विश्लेषण गर्ने, भावनादेखि यथार्थलाई पुल बनेर जोड्ने बलियो माध्यम, हो यही पुलको खाँबोको रूपमा रहेको यसको कथा नै सबल र सक्षम हुन सकेन भने एउटा चलचित्र मात्र डुब्दैन त्यो सँगै गाँसिएका सपना, कसैको भविष्य र विश्वास पनि डुब्छ । यसैले पनि पछिल्लो समय उत्कृष्ट चलचित्र निर्माणको लागी उत्कृष्ट स्क्रिप्ट तयार पारिनु पर्छ भन्ने बहस चल्न थालेको छ । यसैबिच चलचित्रको स्क्रिप्ट लेखन शैली र यस प्रतिको धारणा कसरी विकास गर्न सकिन्छ भन्ने उद्देश्यका साथ नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले सिनेमाको स्क्रिप्ट लेखन कार्यशाला गर्ने भएको छ । अगस्त २१ देखि २७ सम्म मकवानपुरमा पटकथा लेखन कार्यशाला आयोजना हुने बताइएको छ । कार्यशालामा कम्तीमा ६० जना सहभागी गराउने र अनुभवी फिल्म लेखकहरूबाट प्रशिक्षण दिइने कार्यक्रम संयोजक केपी पाठकले जानकारी दिए । विभिन्न देशका स्क्रिप्ट लेखकको सहभागिता रहने कार्यशालामा सहभागीले लेखेको उत्कृष्ट कथालाई लघु चलचित्रको रूप दिन रु.एक लाख नगद दिइने र नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ)को तेस्रो संस्करणमा सहभागी गराइने सहभागी गराइने छ ।