सातै प्रदेशमा साङ्गीतिक प्रस्तुति गर्दै एकता र सद्भाव बाँड्ने लक्ष्यका साथ पहिलो संस्करण सफलता पूर्वक सम्पन्न गरेको सप्तरंगको दोस्रो संस्करण पनि छिट्टै सुरु हुने भएको छ । ग्रिष्मा ब्रोडकाष्टिङको आयोजना रहेको सप्तरंगले दोस्रो संकरणको लागी कलाकारहरू फाइनल गरिरहेको छ । यसैबिच केही दिन अघि महानायक राजेश हमाललाई पहिलो रङको रूपमा अनुबन्धित गराएको थियो भने अर्को रङ गायिका मेलिना राईलाई बनाएको छ । ग्रिष्मा ब्रोडकाष्टिङका निर्देशक ग्रिहेन्द्र घिमिरे र मेलिनाबिच ‘सप्तरंग २’ का लागि आज सम्झौता भएको हो । साङ्गीतिक यात्राको माध्यमबाट सातै प्रदेशको पर्यटकीय स्थानको प्रवर्धन र सम्भावनाको खोजी गरिने लक्ष्य रहेको र व्यावसायिक भन्दा पनि सद्भाव बाढ्नु कार्यक्रमको उद्देश्य रहेको आयोजकले जानकारी गराउँदै आएको छ ।

सप्तरङको पहिलो संकरणमा प्रदेश १ को दमक, प्रदेश २ को जनकपुर, प्रदेश ३ को नारायण घाट, प्रदेश ४ को पोखरा, प्रदेश ५ को बुटवल, प्रदेश ६ को सुर्खेत, प्रदेश ७ को धनगढीमा कार्यक्रम आयोजना गरिएको थियो । जसमा रामकृष्ण ढकाल, प्रमोद खरेल, पशुपति शर्मा, गायिका इन्दिरा जोशी, कमेडियन सन्दीप क्षेत्री, मोडल अञ्जलि अधिकारी र खेलाडी दीपक विष्ट समावेश रहेका थिए ।