केही समय यता नेपाली चलचित्र वृत्तमा एउटा बहसले निकै ठाउँ ओगट्यो । यसै विषयलाई लिएर जिल्ला अदालतमा जाहेरी पनि पर्यो र स्टे अर्डर जारी पनि भयो । यो प्रसङ्ग अरू केहीको नभएर नेपालमा विदेशी चलचित्र प्रदर्शनको विषयमा उठेका प्रश्नहरूको हो । केही महिना अघि बलिउडको प्रतीक्षित चलचित्र 'कलंक' रिलिज हुँदै थियो । साबिकको झैँ बुधवारको लागी प्रदर्शनको तयारी वितरकले गरेका थिए । तर चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केशव भट्टराईले विदेशी चलचित्रको बुधबारे रिलिजमा अंकुश लगाउँदै ‘कलंक’ रिलिज रोकिदिए । यसको चर्चा परिचर्चा भयो तर वितरक नाखुस थिए । नेपाली हलवाला र वितरकको ठुलो आस नै विदेशी चलचित्र हुन् नेपाली चलचित्र रिलिज गरेर व्यवसायमा ठुलो फड्को मारौँला भन्ने कमैले सोचेका होलान् । यसैबिच केही साता अघि बलिउडको प्रतीक्षित चलचित्र ‘भारत’ नेपालमा बुधवार नै प्रदर्शनमा आउँदै थियो र पहिले झैँ अध्यक्ष रिलिज रोक्ने तरखरमा थिए तर बाजी उल्टो पल्टियो । वितरकले काठमाडौँ जिल्ला अदालतमा स्वतन्त्र व्यवसाय गर्न पाउनु पर्ने भन्दै उजुरी दिए र अदालतले वितरकको पक्षमा आदेश जारी गर्यो ।
नेपाली चलचित्रको व्यससाय धरापमा परेका बेला यो निर्णय कठोर र नेपाली राजतपटको हित विपरीत भएको चलचित्र भन्दै व्यवसायीले विरोध गरे । हुन पनि वर्षमा १००को हाराहारीमा नेपाली चलचित्र निर्माण हुन्छन् ती मध्यबाट औँलामा गन्न सक्किनेले मात्र केही हदसम्म लगानी उठाउन सफल हुन्छन् । कुनैले त प्रचारप्रसारको खर्च पनि उठाउन सक्दैनन् । यसरी आफ्नै चलचित्र धराशायी बन्दै गर्दा चलचित्रकर्मी निर्माताले यो आक्रोश पोख्नु उचित नै मान्न सकिन्छ किनकि नेपालमा बलिउडका चलचित्रहरूको बजार व्यापक छ जुन नेपाली चलचित्र भन्दा हद सम्मको बढी हो । यी सबै बिच नेपाली चलचित्रको व्यवसाय पारदर्शी, विस्तारित र स्तरोन्नतीको सपना बाँडेका नवनियुक्त अध्यक्ष भट्टराईको लागी चुनौतीको रूपमा यस विषय उभ्भियो । उनकै नेतृत्वमा बोर्डले अदालतमा गलत व्याख्या गरिएको भन्दै जिल्ला अदालतलाई स्पष्टीकरण पठायो । बोर्डले दिएको स्पष्टीकरणको आधारमा काठमाडौँ जिल्ला अदालतले उक्त स्टे अर्डर खारेज गरिदिएको छ । योसँगै नेपालमा सम्पूर्ण चलचित्र शुक्रवार मात्रै प्रदर्शनमा आउने भएका छन् । सबै चलचित्र समान हुन् र स्वतन्त्र व्यवसाय सञ्चालन गर्न पाउनु सबै व्यवसायीको अधिकार हो । यसै गरी ठुलो लगानी गरेर निर्माण गरिएका नेपाली चलचित्र पनि अन्य देशका चलचित्रले समान व्यवसाय गर्ने अवसर पाउनु पर्छ । यसले नेपाली चलचित्रको लागी पनि केही हदसम्म सहायता पुग्नेछ ।