चैत २८ गतेलाई रिलिज मिति तोकेर कलाकार फाइनल गरिरहेको चलचित्र 'प्रेम गीत ३' का लागी एक पछि अर्को गर्दै कलाकार फाइनल भएको खबर आइरहेका छन् । गत शुक्रवार चलचित्रका मुख्य नायक फाइनल भएको खबर बाहिरिएको थियो यसै बिच चलचित्र निर्माण टिम मुख्य नायिका अर्थात् गीतको भूमिका निभाउने नायिकाको खोजीमा छन् । प्रेमको भूमिकामा अन्य दुई सिरिजझैँ प्रदीप नै हुनेछन् । प्रेमका पिताको भूमिकाको लागी महानायक राजेश हमाललाई अफर गरिएको कुरा पनि बाहिरिएको छ । चलचित्रका अर्को महत्त्वपूर्ण भूमिका अर्थात् भिलेनको भूमिकामा सन्तोष सेन नै देखिने फाइनल भएको छ । सफल दुई सिरिजको कथाभन्दा निकै फरक कथावस्तु लिएर निर्माण गर्न लागिएको चलचित्रलाई ‘अ फर्बिडन लभ स्टोरी’सब टाइटल दिइएको छ । चलचित्र हिमाली भेगको परिवेशमा छायाङ्कन गरिने निर्माण पक्षले जानकारी दिइसकेको छ । चलचित्रलाई छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गर्दै छन् भने सन्तोष सेन र विजय चामलिङ्ग मिलेर निर्माण गर्दै छन् ।