चलचित्र 'वीर विक्रम २'को समीक्षाको विषयलाई लिएर ‘साइबर क्राइम’ अभियोगमा थुनामा रहेका मेम नेपालका होस्ट प्रनेश गौतमलाई थुना मुक्त गर्न अदालतले आदेश दिएको छ । आइतबारको सुनुवाइपछि जिल्ला अदालत, काठमाडौँले साधारण तारेखमा उनलाई छाड्न आदेश दिएको हो । अदालतको आदेश लगत्तै प्रनेशलाई छाडिएको काठमाडौँ प्रहरी परिसर, टेकुका एसएसपी उत्तरराज सुवेदीले बताएका छन् । चौतर्फी विरोध र दबाबका कारण बिहीबार गौतमलाई हाजिरी जमानीमा उनलाई छाडिएको थियो तर पुन: शुक्रवार हिरासतमा लिइएको थियो ।