चलचित्र 'प्रेम गीत'को तेस्रो सिरिज 'प्रेम गीत ३' बन्ने खबरसँगै अघिल्ला दुई सिरिजले मन जितेका दर्शकहरूमा एक प्रकारको उत्साह थपिएको छ । अझ त्यसमाथि बिलकुल नयाँ कथावस्तु अनि कलाकार छनौट गरिएको तरिकाले थप कौतुहलता थपिदिएको छ । यसैबिच आइतबार मात्र चलचित्रका निर्देशक निर्माता र अघिल्लो सिरिजमा पनि भिलेनको भूमिका निभाएका सन्तोष सेन नै भिलेनको भूमिकामा दोहोरिने खबर आएको थियो । योसँगै चलचित्रका मुख्य नायक पनि फाइनल भैसकेका छन् । निर्माण पक्षले चलचित्रका प्रेम (प्रदीप)का बाबुको भूमिकाको लागी महानायक राजेश हमाललाई प्रस्ताव गरिएको र कुरा लगभग टुङ्गो लागेको सङ्केत दिएको थियो । तर अचानक हमालले आफ्नो सेड्युल नमिलेको कारण आफू काम गर्न नसक्ने बताएको निर्देशक निर्माता सन्तोष सेनले जानकारी दिएका छन् ।
नायक प्रदीप खड्काका बाबु अर्थात् राजाको भूमिकाको लागी हमाललाई कुरा गरेको तर उनले त्यो भन्दा दाजुको भूमिका मन पराएको कारण त्यस भूमिकाको लागी लगभग ओके भैसकेको थियो । हमालले आफ्नो सेड्युल मिलाएर खबर गर्ने भनी टिमलाई आश्वस्त पारेका थिए । तर अन्तिम समयमा आएर उनले धोका दिएको भन्दै सेनले गुनासो गरेका छन् । अब पिताको भूमिकाको लागी जुट्ने र सकेसम्म थिएटरका कलाकार नभए चल्तीका राम्रा कलाकारलाई लिने सेनले बताएका छन् । सँगसँगै टिम मुख्य नायिका अर्थात् गीतको भूमिका निभाउने नायिकाको छनोटको अन्तिम तिर छ । ‘अ फर्बिडन लभ स्टोरी’ नाम दिइएको चलचित्र हिमाली भेगको परिवेशमा छायाङ्कन गरिने छ । चलचित्रलाई छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गर्दै छन् भने सन्तोष सेन र विजय चामलिङ्ग मिलेर निर्माण गर्दै छन् ।