साङ्गीतिक रियालिटी सो 'द भ्वाइस अफ नेपाल' को दोस्रो संस्करणको कार्यक्रमको लागी सोमबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा सोको बारेमा, अघिल्लो संस्करणका विवाद, नयाँ योजना र अडिसनका बारेमा समेत चर्चा परिचर्चा भयो । हिमालय टेलिभिजनबाट प्रसारण हुने तयारी गरेको भोइसको यो वर्षको टाइटल स्पोन्सर युनाइटेड सिमेन्ट्सले गर्ने भएको छ । कार्यक्रममा हिमालयन टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेल र प्रायोजकहरूबिच सम्झौता भएको छ । साथै अघिल्लो सिजनमा सो ह्यान्डल गरेका कोचबाट दुई कोच परिवर्तन भएका छन् । यो सिजनमा राजु लामा र आस्था राउत अनुबन्धित भएका छन् भने दीप श्रेष्ठ र प्रमोद खरेलले आफ्नो पहिलेकै स्थान लिनेछन् ।
सिजन एकका कोच सनुप र अभयका ठाउँमा राजु र आस्था भित्रिएका हुन् । कार्यक्रममा यस सम्बन्धी बोल्दै निर्देशक लक्ष्मण पौडेलले सनुप र अभयालाई निकालेको नभएर नयाँ पुस्तालाई स्वागत गरेको र आवश्यक अनुसार अन्य सिजनमा पुन: सनुप र अभयालाई लिन सक्ने बताएका छन् । ठुलो बजेटमा सुरु भएको भोइसले आफ्नो लगानी उठाउन कम्तीमा पनि ३/४ सिजन लाग्ने प्रोड्युसर सुशील नेपालले बताएका छन् । यसै गरी टेलिभिजनको लागी निर्माण गरिएको कार्यक्रमको पपुलारिटी को मापन युट्युबलगायत सामाजिक संजालाले गर्न नसक्ने निर्माण पक्षको दाबी छ ।
यसै गरी सिजन २ को ब्लाईण्ड अडिसन आगामी शुक्रवारबाट सुरु हुने छ । २३ हजार जनाले डिजिटल अडिसन दिइकेकोमा विभिन्न छनौट प्रक्रिया पछि छानिएका सय बढी प्रतिभालाई ब्लाईण्ड अडिसनमा सहभागी गराउने जानकारी कार्यक्रममा दिइयो । कार्यक्रमको प्रसारण भने साउन पहिलो साताबाट हरेक शुक्रवार र शनिवार रातको ८ बजे हिमालय टेलिभिजनमा हुनेछ ।