एक्सन चलचित्रको निर्माणमा गाडी तोड्नु, फोड्नु अनि उडाउनु त सामान्य नै हो । चलचित्र हेर्ने दर्शकलाई चलचित्रको पर्दामा देखाइएको हरेक कुरा सत्य हो भन्ने भ्रम सृजना गर्न पनि छायाङ्कनका समयमा यथार्थको सिमानामा रहेर काम गरिन्छ । एक्सन चलचित्रमा गाडी उडाउने, पड्काउने काममा बलिउडका रोहित शेट्टी एक नम्बरमा गनिन्छन् । उनी एउटा चलचित्रमा करिब दर्जन गाडी उडाउँथे तर अहिले आएर उनलाई पछि पारेका छन् 'साहो' का निर्देशक सुजीतले । चलचित्र 'साहो' मा करिब तीन दर्जन ट्रक र गाडी उडाएका छन् सुजीतले । एभेन्जर्स र ट्रान्सफर्मर जस्ता हलिउडका एक्सन चलचित्रका एक्सन निर्देशन गरिसकेका निर्देशकको टिमले 'साहो'को एक्सन निर्देशन गरेका हुन् । साहोको टिजर रिलिजसँगै यो निकै प्रतीक्षित चलचित्रको रूपमा दर्ज भएको छ । बाहुबली स्टार प्रभासको मुख्य अभिनय रहेको चलचित्रमा श्रद्धा कपुर, निल नितीन मुकेश लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।