एस्थेटिक डान्स स्टुडियोको पहिलो नृत्य महोत्सव घोषणा भएको छ । असार १९ गतेदेखि २१ गतेसम्म राष्ट्रिय नाचघरमा चल्ने महोत्सवमा भारतबाट आएका नृत्याङ्गनाहरुले नेपाली नृत्य कलाकारहरूलाई प्रशिक्षण दिनेछन्। सोमबार आयोजित एक कार्यक्रम बिच भारतबाट आएका नृत्य प्रशिक्षकहरू कत्थक नृत्याङ्गना लीना मालाकार र भरत नाट्यम नृत्याङ्गना अरुपा लेहेरी, त्यस्तै नेपालकी कत्थक नृत्याङ्गना सुविमा श्रेष्ठ र लोक नृत्य प्रशिक्षक राम राईको प्रमुख आतिथ्यमा महोत्सवको घोषणा गरिएको हो । महोत्सव निर्देशक नम्रता केसीका अनुसार महोत्सवमा सात प्रदेशका सात वटा फरक फरक लोक नृत्य प्रस्तुति केन्द्रमा रहेको छ। प्रदेश एकबाट धिमाल, प्रदेश दुईबाट पमरिया, प्रदेश तीनबाट कार्तिक नाच, प्रदेश चारबाट हनुमान नृत्य, पाँचबाट सखिया पैया, छबाट हुड्के नाच ल्याइँदै छ र प्रदेश सातबाट कुन नाच ल्याइने नाचबारे भने केही दिनमा जानकारी सार्वजनिक गरिने छ । नेपाली नृत्य परम्परालाई उत्सव मार्फत उजागर गर्ने र नेपालको लोक तथा परम्परागत नृत्यको ज्ञान र अभ्यास बलियो बनाउने प्रयत्न गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक सोमनाथ खनालले बताए ।