चलचित्र 'प्रेम गीत ३' को लागी कलाकारको छनौट हुँदै गर्दा चलचित्रका नायक प्रदीप (प्रेम)का बाबुको भूमिकाको लागी महानायक राजेश हमाललाई प्रस्ताव गरिएको थियो । तर समय तालिका नमिलेको भन्दै हमालले काम गर्न नसक्ने बताएपछी निर्माण पक्ष केही निराश भएको थियो । आस देखाएर अन्तिममा धोका दिएको भन्दै निर्माता निर्देशक सन्तोष सेनले गुनासो गरेका थिए । यसैबिच लगत्तै हमाललाई प्रस्ताव गरिएको भूमिकाको लागी कलाकार फाइनल गर्ने भनेको टिमले अभिनेता शिव श्रेष्ठलाई प्रस्ताव गरेको छ । सम्भवतः :आजै शिव र निर्माण पक्षबिच सम्झौता हुने सेनले बताएका छन् ।साथै शिव श्रेष्ठसँगै कलाकार सुनिल थापा पनि ‘प्रेम गीत ३’ मा सम्भवतः मङ्गलवार नै अनुबन्धित हुँदै छन् ।
यतिबेलासम्म चलचित्रको लागी प्रदीप खड्का, मनिष राउत, शिव श्रेष्ठ, सन्तोष सेन पक्का भैसकेका छन् । नायिकाको लागी छनौटमा परेका २५ बाट उत्कृष्ट एक छान्ने काम भइरहेको छ । चलचित्रलाई छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गर्दै छन् भने सन्तोष सेन र विजय चामलिङ्ग मिलेर निर्माण गर्दै छन् ।