चलचित्र 'लप्पन छप्पन' व्यवसायिक रूपमा त्यति सफल भएको चलचित्र होइन । दुई वर्ष अघि निर्माण भएको यस चलचित्रले नेपालबाट अपराध गरेर विदेश भागेको एक अपराधीको कथा बोकेको थियो । यसै चलचित्रको सिक्वेलका रूपमा 'लप्पन छप्प न २' बन्ने भएको छ । बुधवार राजधानीको कमलादीस्थित गणेश मन्दिरमा शुभ मुहूर्त गर्दै चलचित्रको रिलिज मिति समेत तोकिएको छ । फागुनको ९ गते रिलिज हुने गरी चलचित्र असार ११ देखि फ्लोरमा जानेछ । शुभ-मुर्हुतमा निर्देशक मुकुन्द भट्टसहित अभिनेता अर्पण थापा, अनुपविक्रम शाही, अभिनेत्री नम्रता श्रेष्ठ, क्यारोलिन कोलिन्डा, छायाकार पुरुषोत्तम प्रधानलगायतको टिम उपस्थित थियो । निर्देशक भट्टले नै प्रिक्वेलको निर्देशनको बाग डोर सम्हालेका थिए । यद्दपी चलचित्रको पहिलो भागले त्यति सफलता हात पार्न सकेन ।
सफल चलचित्रको सिक्वेल निर्माण गर्ने होडबाजी चलिरहेका बेला यस चलचित्रले आफूलाई प्रमाणित गर्नु पर्ने दबाब निर्माण सुरु भएसँगै परेको छ । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, नम्रता श्रेष्ठ, सुरविना कार्की लगायतको मुख्य भूमिका रहने छ । नेपालसहित अस्ट्रेलिया र युरोपमा छायाङ्कन गरिने चलचित्रलाई चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले निर्माण गर्दै छन् । सह-निर्मातामा उमेश पोखरेल, सोनु गुरुङ श्रेष्ठ र खिलेन्द्र तिम्सिना छन् भने सुरेन्द्र पौडेलको सम्पादन रहने चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।