चलचित्र विकास बोर्डले हरेक वर्ष १६ असारलाई आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । वि.सं २०५७ मा स्थापना भएको बोर्डले यो वर्ष स्थापनाको १९औं वार्षिकोत्सव मनाउँदै छ । स्थापनाको १९औं वार्षिकोत्सवको अवसर पारेर नेपाली चलचित्र क्षेत्रमा स्थापनाकालदेखि अहिलेसम्म विभिन्न क्षेत्रमा योगदान पुर्याएका १० जना चलचित्रकर्मीलाई ‘सिनेमाकर्मी विशेष योगदान सम्मान – २०७६’ बाट सम्मानित गर्ने भएको छ । गत वर्षबाट सुरु भएको पुराना नेपाली चलचित्र तथा वृत्तचित्रहरूलाई डिजिटलाईजेशन गर्ने कार्य जारी रहेको र अहिलेसम्म १० वटा नेपाली कथानक चलचित्र डिजिटलाईजेशन भइसकेको बोर्डले एक विज्ञप्तीमार्फत् जानकारी गराएको छ । आमा, परिवर्तन, हिजो आज भोलि, मनको बाँध लगायत १० चलचित्र डिजिटलाईजेशन भएका हुन् । यसै गरी बोर्डका सदस्य दयाराम दाहालको संयोजकत्वमा सम्मानित व्यक्तिहरूको चयन कार्य पनि सुरु भइसकेको छ । नेपाली सिनेमाको इतिहास बोकेका कालजयी सिनेमालाई संरक्षण गरेर भावी पुस्तालाई सुम्पनु पर्ने दायित्व अनुरूप यसलाई डिजिटलाईजेशन गरिएको बोर्डद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
डिजिटलाईजेशन तथा रेस्टोरेशन गरिएका सिनेमाहरूका केही दृश्यहरू बोर्डको वार्षिकोत्सवको अवसरमा प्रदर्शन पनि गरिने विज्ञप्तिमा उल्लेख छ । यद्यपि लामो समयदेखि रोकिएको बोर्डको स्थापना दिवसका अवसरमा प्रदान गरिने 'राष्ट्रिय चलचित्र पुरस्कार' यस पटक पनि नहुने भएको छ ।