नायिका प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी यति बेला आफ्नो व्यक्तिगत जीवन र प्रेमको उत्कर्षमा बाँचिरहेका छन् । केही समय अघि टिका टालो गरेका उनीहरू विवाहको तयारीमा पनि छन् । एक अर्कासँग बढी भन्दा बढी समय बिताइरहेका उनीहरू पछिल्लो समय पर्दामा पनि एकसाथ देखिन थालेका छन् । यो जोडीको प्रेम र समर्पण देखेर उनीहरूका फ्यानहरूले दुईको नाम जोडेर 'आयाङ्का' नाम न्वारन गरिदिएका छन् । विगत जस्तो भए पनि राम्रो भविष्यको बारेमा सोचेर अगाडी बढेको कारण पनि उनीहरू दुनियाँको नजरमा परेका हुन् । बताऊँ त्यो नजरले दुवैको राम्रो सोच्छ अनि सम्बन्धको दिर्घायुको कामना पनि गर्छ । यसै कारण पनि यो जोडी कहाँ जान्छ के गर्छ र कस्तो काम गर्दैछ भन्ने सम्मको चासो दर्शकलाई हुनु स्वाभाविक नै हो ।  नेपाली चलचित्रको लागी प्रियंका अलि पुरानै नाम हो । चलचित्र 'थ्रि लभर्स'बाट नेपाली चलचित्रमा औपचारिक पाइला राखेकी उनले त्यस पछि खासै पछि फर्केर हेर्नु परेको छैन । यती बेलासम्म आइपुग्दा प्रियंका व्यस्त अनि चर्चाको शिखरमा पुगेकी नायिकाको रूपमा लिन सकिन्छ । फेसबुक, ट्विटर, इन्स्टाग्राममा लाखौँले फलो गरेका छन्, उनको व्यक्तित्व र शैली बाट प्रभावित हुने पनि लाखौँ छन् ।

आयुष्मान-प्रियंका जोडीलाई हलमा किन मिल्दैन दर्शकको साथ ?

अब कुरा गरौँ अभिनेता आयुष्मान अर्थात् प्रियंकाका प्रेमीको । भिजे हुँदै चलचित्रमा प्रवेश गरेका उनले 'चपली हाइट २' बाट नेपाली रजतपटमा प्रवेश गरे । सँख्यात्मक रूपमा धेरै चलचित्रमा काम नगरे पनि उनका फ्यान फलोअर्स भने कम छैनन् । 'चपली हाइट २' मा अभिमान जङ्ग शाहीको भूमिकामा देखिएका उनलाई निकै रुचाइयो । दुई वर्षको प्रेम सम्बन्धपछि यी दुईले एक वर्ष अघि इङेजमेन्ट पनि गरिसकेका छन् । चलचित्र 'कथा काठमाडौँ'मा पहिलो पटक यो जोडिले एउटै चलचित्रमा काम गर्‍यो । त्यसबाट खासै चर्चामा आउन त सकेनन् तर त्यस पछिका दिनमा भने प्रियंका र आयुष्मानले एक पछि अर्को गर्दै म्युजिक भिडियोमा काम गरे । गीतको भिडियोमा दुईको केमेस्ट्री दर्शकले निकै रुचाए अझै रुचाइरहेका छन् । दुईका विषयमा सामाजिक सञ्जाल मा निकै चर्चा चल्ने गर्छ । उनीहरूको अन्तरवार्ता लाखौँले हेर्छन् । सामाजिक सञ्जालमा धेरै जना जोडिनु, तस्बिरमा धेरैले लाईक, कमेन्ट गर्नु अनि प्रशंसा गरेर आकाशमा पुर्‍याउनु अनि धेरैले अन्तर्वार्ता हेर्नुले मात्र कुनै कलाकार सेलिब्रेटीको वास्तविक मूल्याङ्कन कहाँ हुन्छ र ? यस्तै भएको छ यो प्रेमिल जोडिएको हकमा पनि ।

प्रियंका र आयुष्मानले पहिलो पटक एउटै चलचित्रमा काम गरे, 'कथा काठमान्डौ'मा तर चलचित्रले सोचेजस्तो व्यापार गर्न सकेन, यो त भयो केही पहिलेको कुरा । गत हप्ता मात्र प्रदर्शनमा आएको चलचित्र 'प्रेम दिवस' प्रियंका र आयुष्मानले पहिलो पटक स्क्रीन साझेदारी गरेको चलचित्र हो यो । यस चलचित्रबाट दुवैले निकै आस गरेका थिए । चलचित्र निर्माण पक्ष प्रचारप्रसारमा नलाग्दा पनि यो जोडी आफैँ दौडधुप गरिरहेको देखिन्थ्यो । विडम्बना चलचित्रले अन्य खर्च र परै जाओस् प्रचारप्रसारका लागी गरेको खर्च पनि उठाउन सक्यो सकेन निर्माण पक्षलाई थाहा होला । प्रदर्शनको पहिलो दिन नै न्यून दर्शकबाट खाता खोलेको प्रेम दिवसले हप्ता भर नै उही अवस्था झेल्नु पर्‍यो । मल्टिप्लेकसले एक हप्तासम्म पनि सोज दिइराख्न सकेनन् । बजारमा यो जोडिएको हाइप हेर्दा लाग्छ उनीहरूको चलचित्र आँखा चिम्लेर ब्लकबस्टर साबित हुनुपर्ने हो । म्युजिक भिडियोमा केही दिनमै लाखौँको भ्युअर्स पाउने उनीहरूको चलचित्र हेर्न दर्शक हल सम्म नपुग्नु कारण के होला त्यो त उनीहरू जति कोही जानकार नहोलान् ।

 

आफ्नो सम्बन्धलाई सस्तो लोकप्रियता दिनु र फिल्मी रोमान्स हेर्न हलसम्म पुगिराख्नु नपर्ने भएरै पनि हुन सक्छ वा दर्शकले महँगो टिकट काटेर सामान्य अन्तर्वार्तामा हेर्न पाउने रोमान्स हेर्न जानु पर्ने आवश्यक नदेखेर पो हो कि ? चलचित्र वास्तविक जीवनबाट शतप्रतिशत प्रभावित हुने हो तर दर्शकले पर्दामा आफूले देख्दै आइरहेको र भोग्दै आइरहेको भन्दा अलि फरक प्रस्तुति र कथा खोजेका हुन्छन् । आफूले मन पराएका कलाकारले आफूभित्रको कलाकारिता हदसम्म प्रयोग गरेको र कामको लागी कुनै सिमाना नतोकेको हेर्न चाहन्छन् र त चलिआएका भन्दा केही फरक प्रस्तुति भएका चलचित्रको कथा सामान्य भए पनि, बजेट थोरै भए पनि मनदेखि नै मन पराउँछन् । सामाजिक संजालको आवरणमा भएको क्रेज र आफ्नो कलाकारिताले जन्माएको वास्तविक प्रशंसक छुट्ट्याएर आगामी दिनमा चलचित्रको कथा आफ्नो भूमिका अनि आफूले भूमिकामा न्याय गर्न सक्ने नसक्ने बुझेर काममा हात हाल्नु पर्ने चुनौती प्रियंका र आयुष्मानको जोडीमा देखिन्छ ।