सातै प्रदेशमा साङ्गीतिक प्रस्तुति गर्दै एकता र सद्भाव बाँड्ने लक्ष्यका साथ पहिलो संस्करण सफलता पूर्वक सम्पन्न गरेको सप्तरंगको दोस्रो संस्करण पनि छिट्टै सुरु हुने भएको छ । ग्रिष्मा ब्रोडकाष्टिङको आयोजना रहेको सप्तरंगले दोस्रो संकरणको लागी कलाकारहरू फाइनल गरिरहेको छ । केही दिनअघि महानायक राजेश हमाल र गायिका मेलिना राई अनुबन्धित भएका थिए भने बिहीबार सप्तरंगको रङ्गहरूमा नयॉ रगं जोड्ने क्रममा तेस्रो रङ्ग सुमधुर स्वरका धनी सुगम पोखरेललाई जोडिएको छ ।
लगातार कलाकारहरूलाई दोस्रो संस्करणको लागी जोडिरहेका ग्रिष्मा ब्रोडकाष्टिङका निर्देशक ग्रिहेन्द्र घिमिरेले चौथो रङ्गको रूपमा लोकप्रिय गायक हिमाल सागर र पॉचौ रङ्ग लोक तथा दोहोरी गायक प्रकाश सपुतलाई बनाइएको सार्वजनिक गरेका छन् । साङ्गीतिक यात्राको माध्यमबाट सातै प्रदेशको पर्यटकीय स्थानको प्रवर्धन र सम्भावनाको खोजी गरिने लक्ष्य रहेको र व्यावसायिक भन्दा पनि सद्भाव बाढ्नु कार्यक्रमको उद्देश्य रहेको आयोजकले जानकारी गराउँदै आएको छ ।