सातै प्रदेशमा साङ्गीतिक प्रस्तुति गर्दै एकता र सद्भाव बाँड्ने लक्ष्यका साथ पहिलो संस्करण सफलता पूर्वक सम्पन्न गरेको सप्तरङ्गको दोस्रो संस्करण पनि छिट्टै सुरु हुने भएको छ । ग्रिष्मा ब्रोडकाष्टिङको आयोजना रहेको सप्तरङ्गले दोस्रो संकरणको लागी कलाकारहरू फाइनल गरिरहेको छ । कार्यक्रमको लागी पाँच रङको प्रतिनिधित्व गर्नको लागी पाँच कलाकार छानिइसकेका छन् भने छैटौँ रङ सुदूर पश्चिम प्रदेश नं ७ लाई प्रतिनिधित्व गर्दै नेपाल आइडल विजेता रवि ओडलाई बनाइएको छ । ग्रिष्मा ब्रोडकाष्टिङका निर्देशक ग्रिहेन्द्र घिमिरेले औपचारिक रूपमा रविलाई सप्तरङ्गमा स्वागत गरेको जानकारी दिएका छन् । यस अघि महानायक राजेश हमाल, गायिका मेलिना राई, गायक सुगम पोखरेल, गायक हिमाल सागर र लोक तथा दोहोरी गायक प्रकाश सपुत सप्तरङ्गको हिस्सा बनिसकेका छन् । साङ्गीतिक यात्राको माध्यमबाट सातै प्रदेशको पर्यटकीय स्थानको प्रवर्धन र सम्भावनाको खोजी गरिने लक्ष्य रहेको र व्यावसायिक भन्दा पनि सद्भाव बाढ्नु कार्यक्रमको उद्देश्य रहेको आयोजकले जानकारी गराउँदै आएको छ ।