शिशिर राणाको निर्देशनमा बनेको चलचित्र 'पोइ पर्यो काले' को छायाङ्कन समापन भएको छ । नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले स्क्रीन सेयर गरेको तेस्रो चलचित्र आउँदो कात्तिक ८ गते दीपावलीको अवसर पारेर प्रदर्शनमा आउँदै छ । चलचित्रमा रियल लाईफ जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ । निर्देशकका अनुसार चलचित्रको एउटा गीतको भने छायाङ्कन हुन बाँकी छ । उसो त चलचित्रले सुरु देखिनै कौतुहलता सृजना गरिरहेको छ । यसैबिच चलचित्रको छायाङ्कन सकिएको घोषणा गरेसँगै निर्माण पक्षले केही तस्बिर सार्वजनिक गरेको छ । सार्वजनिक तस्बिरमा पूजालाई बेहुलीको पहिरनमा देख्न सकिन्छ भने, आकाश र सौगात बेहुलाको भेषमा देखिएका छन् । 'पोइ पर्यो काले' मा सौगात र पूजा श्रीमान्-श्रीमतीको भूमिकामा रहेको पहिलेदेखि नै चर्चा छ । तर सार्वजनिक गरिएका तस्बिरले भने केही अन्योल सृजना गरिदिएको छ ।
चलचित्रको कथा भने सौगातको वरिपरि घुमेको बताइएको छ । चलचित्रमा सोहित मानन्धर, सुरक्षा पन्त, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामालगायतका कलाकारहरूको पनि अभिनय छ । चलचित्रको कथा निर्देशक राणा कै रहेको छ यसै गरी शिव ढकालले चलचित्र खिचेका हुन् । चलचित्रका गीतमा सुवास भुसाल र पुरुषोत्तम न्यौपानेले सङ्गीत भरेका छन् । दीपक मनाङ्गे र अ. देवी राई निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्मातामा किरण नेपाली र रधु परियार हुन् ।