चलचित्र ‘साइनो’को दोस्रो गीत ‘कुन मायाको साइनो’ सार्वजनिक भएको छ । अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको यस चलचित्र साउन २४ गते प्रदर्शनमा आउँदै छ । चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् । प्रताप दास र जीना रसाइलीको स्वर रहेको गीतलाई एलिश कार्कीले सङ्गीत दिएका हुन् । गीतमा राजेशकुमार श्रेष्ठको शब्द रचना गरेका हुन् । चलचित्रको सार्वजनिक गीतमा निता ढुङ्गाना, मीरुना मगर र राज कुमारबिचको त्रिकोणात्मक प्रेम देखाइएको छ । निता, मिरुना र राजसँगै भुवन चन्द थापा, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, विशाल पहाडीलगायतका कलाकारको अभिनय रहेको छ । चन्द्र विनायक फिल्म प्रोडक्सनको ब्यानर निर्माण भएको चलचित्रमा रामेश्वर कार्कीको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । अभिमन्यु निरवी लिखित चलचित्रका कार्यकारी निर्माता शरण थापा हुन् ।

चलचित्रको प्रदर्शन मिति नजिक आउँदै गर्दा निर्माण पक्षले यसै गीतको लागि ‘टिक-टक च्यालेन्ज’ आयोजना गर्ने भएको छ । गीतको कुनै पनि अंशमा इच्छुकले टिक-टकबाट भिडियो बनाउन सक्ने र बनाइएको टिक-टक भिडियोलाई चलचित्र ‘साइनो’को अफिसियल फेसबुक पेजमा पठाउनु पर्ने जानकारी दिइएको छ । च्यालेन्जमा उत्कृष्ट हुने भिडियोलाई निर्माण टिमले प्रथम हुने भिडियोलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजारको राशि प्रदान गर्ने छ । पाँच जनालाई गिफ्ट ह्याम्पर र दुई जना भाग्यशालीलाई आस्था कला केन्द्रमा १ वर्षको लागि निःशुल्क प्रशिक्षणको व्यवस्था गरिनेछ । विजेताहरू सिनेमा रिलिज अगावै घोषणा गरिने बताइएको छ ।