सुयोग गुरुङको डेब्यू निर्देशनमा निर्माण भएको चलचित्र 'सानो मन'को शीर्ष गीत रिलिज भएको छ । आइतबार युट्युबमार्फत रिलिज गरिएको गीतले सम्पूर्ण चलचित्रको थिम बोकेको छ । असार २० गते रिलिज मिति तोकेर अगाडी बढेको चलचित्रको सार्वजनिक गीतमा रोहित जोन क्षेत्रीले स्वर दिएका छन् । यसै गरी सुयोग सोताङको सङ्गीत रहेको छ भने स्वप्निल शर्माको शब्द रहेको छ । गीतमा आयुष्मान र शिल्पाको प्रेम झल्किन्छ । चलचित्रका निर्देशक सुयोग गुरुङका अनुसार गीत चलचित्रको कथासँग नजिक रहेको र युवा युवतीबिच नौलो प्रेम हुँदाको क्षणहरू झल्किने खालको छ । चलचित्रमा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी लगायत कलाकारको अभिनय रहेको छ । ओ.पी.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रको भिएफएक्स नगेश कँडेलले गरेका हुन् । चलचित्रमा योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धरले संयुक्त रूपमा लगानी गरेका छन् । यस अघि चलचित्रको ‘रानु कम्मर’ बोलको गीतले सार्वजनिक भएको थियो र गीतले चर्चा पनि बटुलिरहेको छ ।