वैशाख २० गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘दाल भात तरकारी’ले सफलताको साथ राजधानीमा ३ हलमा ५१ दिन मनाउन सफल भएको छ । राजधानीको गोपीकृष्ण हल, गुण सिनेमा र अष्टनारायण गरी ३ हलमा शनिवार ५१ दिन पुरा गरेको थियो । आइतबार चलचित्र टिमले ५१ दिन पुरा गरेको अवसरमा सेलिब्रेशन पार्टी राखेको थियो । ललितपुरको इमाडोल स्थित एक पार्टी प्यालेसनमा आयोजना गरिएको सेलिब्रेसन पार्टीका दाल भात तरकारीका सम्पूर्ण कलाकार सहित, प्राविधिकको साथै सिने नगरीका विभिन्न कलाकारहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा निर्माण टिमले चलचित्रको सम्पूर्ण कलाकार र आबद्ध रहेका प्राविधिकलाई सम्मान स्वरूप प्रमाणपत्र वितरण गरेको थियो । त्यस्तै चलचित्रकी नायिका आँचल शर्मालाई बोनस स्वरूप आइपोन उपहार दिएका थिए । चलचित्रका निर्माता किरण केसीका अनुसार आँचलले छायाङ्कनको क्रममा ‘दाल भात तरकारी’ले ५१ औँ दिन मनाएको खण्डमा आइपोन दिनु पर्ने सर्त राखेको कारण उनलाई उक्त उपहार दिइएको बताए ।
यो चलचित्रले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको थियो । सुदन केसीको पहिलो निर्देशनमा बनेको दाल भात तरकारीले पाएको प्रतिक्रिया आफूले स्विकारेको उनी बताउँछन् । ‘दर्शक र समीक्षकबाट जे प्रतिक्रिया पाए त्यो मैले स्वीकार गरेको छु । यो चलचित्रमा हामीले केही फरक प्रयोग गर्न खोजेको थियौ तर त्यसमा सफल हुन सकेनौँ । आगामी दिनमा अझ राम्रो काम गर्न ऊर्जा मिलेको छ । ’ त्यस्तै चलचित्रका निर्माता किरण केसीले मह सञ्चार ब्यानरलाई विश्वास गरेको कारण दाल भात तरकारीले ५१ औँ दिन मनाउन सफल भएको बताए । ‘चलचित्रमा धेरै कमी कमजोरी थियो हामीले त्यस्तै स्वीकार गरेका छौ । यो चलचित्रले ५१ दिन मनाउनुमा मह सञ्चार ब्यानरलाई दर्शकले विश्वास गरेका हुन् । आगामी दिनमा निराश बनाउने छैनौँ । ’ उनी भन्छन् ।
सुदन केसीको निर्देशन र मह सञ्चारको प्रस्तुति रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, बसुन्धरा भुसाल लगायतका कलाकारको मुख्य भूमिका रहेको थियो ।
तस्बिर : उमेश कार्की 'अन्जान'