प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भएको भन्दै चलचित्र ‘मालिका’का निर्माता तथा लेखक नरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । चलचित्रमा नायिका रेखा थापाले निर्देशन एवं अभिनय गरेकी हुन् । ‘मालिका’ पछि नरबहादुर र रेखा निकै नजिक छन्, नरबहादुर पक्राउ परेपछी रेखाले सरकारप्रति आक्रोश पोखेकी छिन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा ''राज्य आतङ्कको वर्तमान रूप आफ्नै आँखाले देखियो आज ! सामाजिक अभियन्ता, अन्तर्राष्ट्रिय मोटिभेटर आदरणीय नरबहादुर कार्की सरलाई प्रहरीले एक अपराधीलाई जसरी पक्राउ गरेको छ। धकेलेर, भरखरै मारौँला जस्तो गरेर गणतान्त्रिक लाेकतन्त्रात्मक प्रहरी प्रस्तुत भएको खुद आँखाले देख्न पाइयो। सामाजिक विषयका बारेमा छलफल गर्दै गर्दा उहाँलाई अपराधीलाई जसरी किन पक्राउ गरेको भनेर सोध्दा विप्लव समर्थक भएर रे ? यो जस्तो नालायक र पाखण्ड जवाफ अरू के हुन सक्छ ? कुनै व्यक्ति, कुनै पार्टीको नेताको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो ?'' भन्दै स्ट्याटस राखेकी छिन् । एक वर्ष अघि भव्य कार्यक्रमका बिच नरबहादुर विप्लव समूहमा प्रवेश गरेका थिए ।

सरकारले गएको फागुन २८देखि विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो यसैबिच सोमबार प्रहरीले अनुसन्धानका लागि कार्कीलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउपछि उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।