अघिल्लो वर्ष सुस्ताएको नेपाली चलचित्रको व्यापार यो वर्षको सुरुवात केही सुखद भयो । यो वर्षको पहिलो हिट चलचित्र ‘दाल भात तरकारी’ले सफलतापूर्वक प्रदर्शनको ५१औँ दिन मनाएको छ । ५१ दिने सेलिब्रेसन कार्यक्रममा सिनेमाको निर्माण टिमले प्राविधिकहरूलाई प्रमाणपत्र र बोनस वितरण गरेको थियो । साथै चलचित्र निर्माणमा आबद्ध सम्पूर्ण टिमलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा चलचित्रकी मुख्य अभिनेत्री आँचल शर्मालाई निर्माण टिमले आइफोनको नयाँ भर्सन उपहार दिएको छ ।चलचित्र ‘दाल भात तरकारी’ले ५१औँ दिन मनाउँदा मुख्य अभिनेत्री आँचलको भने खासै चर्चा भने चलेन । यति बेला म्युजिक भिडियो मै व्यस्त रहेकी आँचलको हातमा पछिल्लो समय कुनै चलचित्र छैन भन्दा फरक पर्दैन । तर आँचल यति बेला गुमनाम भने छैनन् ।
युट्युबलगायत सञ्चारमाध्यममा उनको नाम अग्रस्थान मै आउँछन् । यिनै आँचल आफू चलचित्रमा देखिए पनि नदेखिए पनि सञ्चारमाध्यममा आफ्नो नाम आइरहेकोमा खुसी लाग्ने बताउँछिन् । उनले मानिसको नाम सकारात्मक रूपमा होस् या नकारात्मक रूपमा होस्, आउन चाहिँ पर्छ र आफ्नो नाम पनि आइरहेकोमा खुसी भएको कुरा व्यक्त गर्छिन् । यति बेला आफ्नो हातमा चलचित्र नहुनु अनि चर्चा विवाद जे भए पनि सञ्चारमाध्यममा आउनुलाई ठुलो मान्नुले आँचलको कलाकारिता क्षेत्रमा कुन वजन स्थापना गर्ला त्यो भने उनले सायदै सोचिन् होला । सङ्ख्यात्मक हिसाबमा भन्दा गुणात्मक हिदाबमा राम्रो काम गर्ने अनि आफ्नो पहिचान कसैले मेटाउन नसक्ने बन्न खट्नु पर्ने समयमा आँचलाले दिएको यो अभिव्यक्ति सुन्दा लाग्छ उनी भोलि को लागी नभएर आज र अहिले को नाम र चर्चा परिचर्चाको पछाडि दौडिरहेकी छिन् ।