सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा निर्माण हुन लागेको चलचित्र 'प्रेम गीत ३' को लागी मुख्य नायिकाको खोजीमा रहेको निर्माण पक्षले खुल्ला प्रतिस्पर्धाको लागी आह्वान गरेको थियो । चलचित्र 'प्रेम गीत'को सफल दुई सिरिजलाई विश्वास गरेका दर्शकले तेस्रो सिरिज मार्फत पनि निकै आशा गरेका छन् । प्रेम र गीत चलचित्रका दुई मुख्य पात्र हुन् जसको वरिपरि चलचित्रको कथा घुम्ने गर्छ । प्रेम गीतको यो सिक्वेलमा पनि प्रेम र गीतको नै मुख्य भूमिका रहने जानकारी आइसकेको छ । केही समय अघि गीत को भूमिकाको लागी चलचित्र निर्माण पक्षले जानकारी गराए अनुसार विश्वभर बाट २७१४ जनाले डिजिटल अडिसन दिएका थिए । त्यसबाट उत्कृष्ट २५ जना छानिएका थिए जसमा केही परिचित अनुहार थिए त केही नयाँ । ती २५ जनाबाट टप पाँच छानिएका खबर आएको छ ।

क्रिस्टिना गुरुङ, स्नेहा पौडेलसँगै रिया न्यौपाने टप ५मा परेका छन् भने बाँकी दुईको नाम अझै गोप्य राखिएको छ । केही दिनमा निर्माण पक्षले सम्पूर्ण ५ को नाम सार्वजनिक गर्ने जानकारी दिएको छ । टप ५ मा परेको भनिएकी क्रिस्टिना अमेरिकामा अध्ययनरत छिन् र चलचित्रकै अडिसन दिनका लागि हाल उनी नेपाल आएकी हुन् । हाम्रो हाई स्कुलबाट कलाकारिता क्षेत्रमा डेब्यु गरेकी स्नेहा पौडेल अस्कर कलेजमा चलचित्र सम्बन्धी अध्ययन गरिरहेकी छिन् । यसै गरी रिया बिल्कुन नयाँ अनुहार हो जो यति बेला आफ्नो नर्सिङको अध्ययन सकेर बसेकी छिन् । चलचित्रलाई सन्तोष सेन र विजय चामलिङ्ग मिलेर निर्माण गर्दै छन् । यतिबेलासम्म चलचित्रको लागी प्रदीप खड्का, मनिष राउत, शिव श्रेष्ठ, सन्तोष सेन, शिव श्रेष्ठ सुनिल थापा पक्का भैसकेका छन् ।