सफल चलचित्र 'प्रेम गीत 'को तेस्रो सिरिज 'प्रेम गीत ३' निर्माण हुँदै गर्दा चलचित्र सम्बन्धी बिभिद विषयहरू चर्चामा आइरहेका छन् । यसैबिच बाल कलाकार अनुभव रेग्मी प्रेमको भूमिकामा छानिएका छन् । अनुभवले प्रेमको बच्चा बेलाको भूमिका निभाउने निर्माता तथा निर्देशक सन्तोष सेनले बताएका छन् । प्रेमको भूमिका नायक प्रदीप खड्का पहिल्यै फाइनल भएका हुन् भने उनका बाबुको भूमिकामा भर्खरै शिव श्रेष्ठ अनुबन्धित भएका छन् । नव नायक मनिष राउत तथा सुनिल थापा पनि चलचित्रको मुख्य हिस्सा बनिसकेका छन् भने मङ्गलवार मात्रै गीतको भूमिकाको लागी छानिएका २५ युवतीबाट पाँच छानिएका खबर आएको छ ।
क्रिस्टिना गुरुङ, स्नेहा पौडेलसँगै रिया न्यौपाने टप ५मा परेका छन् भने बाँकी दुईको नाम अझै गोप्य राखिएको छ । केही दिनमा निर्माण पक्षले सम्पूर्ण ५ को नाम सार्वजनिक गर्ने जानकारी दिएको छ । चलचित्रलाई छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गर्दै छन् भने सन्तोष सेन र विजय चामलिङ्ग मिलेर निर्माण गर्दै छन् । आउँदो नयाँ नेपाली वर्षमा प्रदर्शन गर्ने गरी चलचित्रको छायाङ्कन सुरु हुने निर्माण टिमले बताउँदै आएको छ ।