साङ्गीतिक रियालिटी सो 'द भ्वाइस अफ नेपाल' को दोस्रो संस्करणको कार्यक्रमको लागी अघिल्लो सिजनमा सो ह्यान्डल गरेका कोचबाट दुई कोच सनुप र अभयका परिवर्तन भएको खबर केही दिन अघि नै सार्वजनिक भइसकेको छ । उनीहरूका ठाउँमा राजु लामा र आस्था राउत अनुबन्धित भैसकेका छन् । यसैबिच टिमबाट आउट भएकी अभयाले भर्खरै 'द भ्वाइस' को विषयलाई लिएर एउटा भिडियो सार्वजनिक गरेकी छिन् । उनले भ्वाइसले आफूमाथि लगाएको आरोप गलत भएको भनी खण्डन गरेकी छिन् । सिजन एकको कतारमा भएको ग्राण्ड फिनालेमा उनी सहभागी नभएको कारण कोचबाट निकालिएको भन्ने कारण भ्वाइसका निर्देशक लक्ष्मण पौडेलले केही दिनअघि दिएका थिए । तर अभयाले आफ्नो ब्याण्डको कन्सर्ट र फिनाले जुध्ने जानकारी निर्माण पक्षलाई तीन महिना अघि नै दिएको बताएकी छिन् । उनी सार्वजनिक गरेको भिडियोमा भ्वाइस टिमप्रति आफ्नो कुनै गुनासो नभएको तर अपबाह फैलाउनु आफूमाथि ठुलो अन्याय भएको र त्यही गलत कुराको विरोध गर्ने आफू भिडियो मार्फत आउनु परेको बताउँछिन् । तीन महिना अघि जानकारी गराइसकेको साथमा टिमकै सल्लाहमा भिडियो म्यासेज पनि बनाइएको तर आफूलाई कोच बाट हटाउन त्यही कुरालाई बहाना बनाउनु निकै गलत भएको उनको भनाइ छ ।

हेर्नुहोस् अभयाको अभिव्यक्ति :

उनका अनुसार एक वर्षलाई आफूले कन्ट्र्याक्ट गरेको र टिमबाट निस्किनु ठुलो कुरा नभए पनि आफूप्रति गरिएको गलत व्यवहार सह्य हुँदैन । अभया भन्छिन्, आफूलाई भ्वाइसबाट निकालिएको कुनै आधिकारिक जानकारी नै नदिएको र सम्पार्क गर्न खोज्दा पनि टार्ने गरेका थिए र आफूले पनि बजारको गाइँगुईँ हल्लाबाट आफू निकालिएको खबर थाहा पाएकी थिएँ । यति बेला भ्वाइसको व्यवहार प्रति असन्तुष्ट हुने अभया मात्र होइनन् । अभयाले यसरी भिडियो सार्वजनिक गरेपछी सिजन १ का चिफ असिस्टेन्ट डिरेक्टर तथा आइटी हेड फिरोज तिमल्सिनाले पनि भ्वाइसले आफूप्रति गरेको व्यवहार प्रति असन्तुष्ट हुँदै फेसबुकमा स्ट्याटस राखेका छन् । उनले सिजन २ सुरु हुँदै गर्दा पनि आफूले सिजन १ को पारिश्रमिक नपाएको लेखेका छन् । सयौँ पटक सम्पर्क गर्न खोज्दा पनि कुनै प्रतिक्रिया नदिने र बहाना बनाउन पछि नपर्ने टिमको द्वन्दले गर्दा आफूले भ्वाइस छोडेको उनी बताउँछन् । सिजन १ बाट अनेक विवादमा तानिएको 'द भ्वाइस' ले कतिसम्म प्रोफेसनल हुनु पर्ने हो त्यो त यती ठुलो अन्तर्राष्ट्रिय सोले थाहा पाउनु पर्ने हो । यति बेला अभया र फिरोजको समर्थनमा दर्शकहरू बोलिरहेका छन् ।