आयुष्मान देशराज जोशी, शिल्पा मास्के अभिनीत चलचित्र 'सानो मन'ले रिलिज मिति पछि सारेको छ । असार २० गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्रको प्राविधिक काम बाँकी रहेकाले तोकिएको मितिमा रिलिज गर्न नसकेको निर्माण पक्षले बताएको छ । एक हप्ता परको डेट अर्थात् असारको २७ चलचित्र प्रदर्शनमा आउनेछ । यस सम्बन्धी प्रस्ट पार्दै निर्माता राजेन्द्र मानन्धर भन्छन्, ‘हतारमा नराम्रो चलचित्र रिलिज गर्नुभन्दा प्राविधिक सुधार गरी एक हप्ता ढिलो आउन लागेका हौँ ।’ सुयोग गुरुङको डेब्यू निर्देशनमा तयार भएको चलचित्रमा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल, रश्मी भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।

ओ.पी.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रको भिएफएक्स नगेश कँडेलले गरेका हुन् । चलचित्रमा योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धरले संयुक्त रूपमा लगानी गरेका छन् ।