पछिल्लो समयको चर्चित लोक गीत 'गलबन्दी' केही दिन यता विवादमा तानिएको थियो । गीतको लय चोरीको विषयमा केही समयदेखि गायक शम्भु राई र गायक प्रकाश सपुतबिच उल्झन सृजना भएको थियो । ‘गलबन्दी’ सार्वजनिक भएसँगै राईले यसको भाका आफ्नो आफ्नो गीत ‘देउसी भैली’को लयसँग मिलेको भन्दै प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा उजुरी दर्ता गरेका थिए । तर, प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल सहमतिमा टुंगिएको छ ।
सहमति अनुसार, अब युट्युब ‘गलबन्दी’ बोलको गीतको सङ्गीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः सङ्गीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ । तसैगरी अन्य विभिन्न प्रकाशन गरिने क्षेत्रमा पनि शम्भु राईको नाम समावेश गरी प्रकाशन गर्ने सहमति भएको छ । साथै कुनै पनि माध्यमबाट प्राप्त हुने अधिकार, प्रतिलिपि अधिकार, स्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहनेछ शम्भु राईले कुनै पनि दाबी नगर्ने सहमति भएको छ । यसको साथमा प्रतिलिपि अधिकारको रजिस्टारको कार्यालयमा दिएको उजुरी फिर्ता लिने सहमति राईले गरेका छन् ।