२०७५ सालको एसइइ परीक्षामा सहभागी बनेकी नेपाली चलचित्र जगतकी सदाबहार नायिका करिश्मा मानन्धर ३ जीपीए सहित उतिर्ण भएकी छिन् । अभिनयको दुनियाँमा कहिल्यै पछाडि फर्केर हेर्नु नपरेको उनले शैक्षिक दक्षता हासिल गर्ने क्रममा पनि सफलता पाएकी छिन् । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आबद्ध भएपछि खेप्नु परेको आलोचनालाई हौसलाको रूपमा लिएर पढाइ सुरु गरेकी उनले मैतीदेवीको त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ बाट अध्ययन सुरु गरेकी थिइन् । एसइइ परीक्षा उतिर्ण भएसँगै उनलाई उच्च शिक्षा अध्ययनका लागि बाटो खुलेको छ । एसइइ परीक्षा उतिर्ण भएपछि उनी अब व्यवस्थापन विषय लिएर प्लस टु पढ्ने बताएकी छन् । साथमा उतिर्ण भएकोमा आफू निकै खुसी भएको बताएकी छिन् । हाल बाबुराम भट्टराई र उपेन्द्र यादवको दलबिच पार्टी एकता भएपछि करिश्माले पार्टी परित्याग गरेर बसेकी छिन् अब कुनै पनि राजनीतिक पार्टीमा संलग्न नहुने उनको भनाइ छ ।