सिने नगरीमा महंगी नायिकाको रूपमा परिचित छिन् नम्रता श्रेष्ठ । सङख्यात्मक हिसाबले थोरै चलचित्रमा काम गरेकी नम्रताका प्राय जसो चलचित्रहरु हिट नै छन् । सुन्दरी नायिकामा पर्ने नम्रताको अब्बल अभिनयको कारण पनि उनको फ्यान फलोइङ राम्रो छ ।

गत वर्ष चलचित्र क्लासिकले पाएको सफलता सँगै नम्रताको हाइहाइ नै भयो । उनले राष्ट्रियसहित एक दर्जन अवार्डमा एकछत्र राज गरिन् । वर्षमा एउटा मात्र चलचित्रमा काम गर्ने नम्रताको यो वर्ष पनि यही ख्यातिलाई निरन्तरता दिने दाउमा थिइन् सायद । तर, उनले चाहेको भने पुरा हुन सकेन् । जेठ १४ मा प्रदर्शन भएको चलचित्र ‘पर्व’बाट नम्रताले ठुलो आश गरेकी थिइन् । थ्रिलर जनरामा बनेको चलचित्रमा नम्रता मुख्य भूमिकामा थिइन् । प्रमोसनमा पनि उनी दिलोज्यान लगाएर नै लागी परिन् । तर, चलचित्रले भने कुनै कमाल गर्न सकेन ।

क्लासिक निर्देशक दिनेश राउतको निर्देशनमा रहेको पर्वबाट नम्रताको करियरमा ठुलो धक्का लाग्यो । चलचित्रले न त कमाई नै गर्‍यो न त राम्रो प्रशंसा नै पायो । त्यति मात्र होइन, नम्रताकै अभिनय रुचाउने दर्शकको पनि खडेरी लाग्यो । यति बेला नम्रताको हातमा कुनै चलचित्र छैन । बुझिए अनुसार नम्रता र निर्देशक दिनेश राउत मिलेर चलचित्र ‘टकिला सनराइज’ बनाउने तयारीमा छन् । तर, यस विषयमा कुनै टुङगो नलागेको निर्देशक राउतले एक अन्तवार्तामा बताइसकेका छन् । यसरी हेर्ने हो भने नम्रताको हात अहिले खाली नै छ । आफू भन्दा पछि आएका नायिकाहरुको व्यस्तता बढी रहेको बेला खालि बसेकी नम्रताको करियरले अबको मोड कता तिर मोड्ला त्यो समयले बताउने नै छ ।