बाबु छोराको प्रेम र सम्बन्धमा आधारित चलचित्र 'आप्पा' प्रदर्शन भइरहेको छ । ओपनिङबाटै राम्रो सुरुवात गरेको चलचित्रले मिश्रित प्रतिक्रिया पाएको छ । शुक्रवार सन्तोषजनक ओपनिङ गरेको चलचित्रले शनिवार मल्टिप्लेक्स र एकल पर्दामा ७० प्रतिशतसहितको प्रदर्शन गरेको बताइएको छ । मल्टिप्लेक्स मात्र हैन, सिङ्गल स्क्रिनमा समेत शनिवार फिल्मले राम्रो पर्फमेन्स गरेको छ । यसै गरी मोफसलतर्फ नेपाली चलचित्रको ठुलो बजार मानिने पोखरा, चितवन, बुटवल, बिर्तामोड, इटहरीलगायतका प्रमुख स्टेसनमा पनि शनिवार हाउस फुल रहेको रिपोर्ट प्राप्त छ । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण आइतबारबाट फिल्म हेर्ने दर्शकको चाप बढ्नेमा निर्देशक गुरुङ विश्वस्त छन् ।

आइतबारको व्यापारले भने चलचित्र बक्सअफिसमा लामो रेसको घोडा बन्ने वा नबन्ने भन्ने तय गर्नेछ । ‘आप्पा’ भारतका २५ हलमा पनि जुन ५ देखी रिलिज हुँदै छ । 'आप्पा'मा अभिनेता दयाहाङ राईले बाबुको भूमिका निभाएका छन् जुन भूमिकाले कथाको मर्म बोकेको छ । चलचित्रमा डेब्यु नायक सिद्धान्त राज तामाङ, डेब्यु नायिका अल्लोना काबो लेप्चा, तुलसी घिमिरे अरुणा कार्की लगायतको अभिनय रहेको छ जसलाई दर्शकले मन पराएका छन् । चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् ।