एक जमानाका एक्सन हिरो शिव श्रेष्ठ पछिल्लो समय गुमनाम झैँ थिए । आफूले अभिनय गरेको चलचित्र असफल हुनु र आफैँ निर्माण गर्न लागेको चलचित्र पनि सम्पन्न गर्न नसक्दा उनी अलमल्लिएका थिए । तर यति बेला उनै नायक एक पछि अर्को गर्दै चलचित्रमा अनुबन्धित भइरहेका छन् । केही दिन अघि चलचित्र 'प्रेम गीत ३'मा अनुबन्धित भएका उनले फेरी अर्को चलचित्रमा साइन गरेका छन् । मुकुन्द भट्टको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘लप्पन छप्पन’मा शिवले नायक सौगात मल्लका पिताको भूमिका निभाउने गरी अनुबन्धित भएको  जानकारी आएको छ । बेलायत र अस्ट्रेलियामा छायाङ्कन हुने चलचित्रमा नायक सौगात मल्ल, दयाहाङ राई, नम्रता श्रेष्ठ, सुरविना कार्की, अनुप विक्रम शाही लगायतका कलाकारले काम गर्ने पक्का भैसकेको छ । यसै गरी केही अघि शिव श्रेष्ठ अनुबन्धित भएको चलचित्र 'प्रेम गीत ३'मा पनि उनी प्रेमको पिताको भूमिकामा देखिनेछन् ।