चलचित्र 'प्रेम गीत' को तेस्रो सिक्वेल 'प्रेम गीत ३'को प्रतीक्षामा रहेका दर्शकको एउटा ठुलो र लामो समयदेखिको कौतुहलताको विषय थियो चलचित्र कि नायिकाको बारेमा । अघिल्ला भागमा गीतको भूमिकामा पूजा शर्मा र अस्लेशालाई देखेका दर्शकमाझ फेरी नयाँ अनुहारमा गीतलाई प्रस्तुत गरिने खबर आएसँगै अनेक अडकल बाजी चलिरहेको थियो । साथमा नायिका छनौटको प्रक्रियाले पनि लामो समय लिएको थियो । यति बेला त्यो लामो प्रतीक्षाको घडी सकिएको छ । गीतको भूमिकामा अब क्रिष्टिना गुरुङलाई देखिने भएको छ । निर्माण पक्षले गीतको भूमिकाको लागी खुल्ला प्रतिस्पर्धाको लागी आह्वान गरेको थियो । विश्वभरबाट २७१४ जनाले डिजिटल अडिसन दिएका थिए । त्यसबाट उत्कृष्ट २५ जना छानिए जसमा केही परिचित अनुहार थिए त केही नयाँ । ती २५ जनाबाट पनि टप पाँच छानिए र अन्तमा चलचित्रका निर्माता निर्देशक सन्तोष सेनले आइतबार आफ्नो फेसबुकबाट क्रिष्टिना गुरुङ गीतको भूमिकामा पक्का भएको जानकारी दिएका छन् ।

‘प्रेमगीत ३’ को लागी क्रिस्टिना गुरुङ फाइनल

अमेरिकामा अध्ययनरत क्रिस्टिना चलचित्रकै अडिसन दिनका लागि हाल उनी नेपाल आएकी थिइन् । सेनले आफ्नो फेसबुकमा यो सम्बन्धी जानकारी दिँदै, ''थुप्रै सङ्घर्ष र चुनौतीहरू पार गर्दै अमेरिकाबाट नेपाल अडिसनको लागि आएकी क्रिष्टिनाको २७१४ बाट गीतको लागि चयन हुन उनको प्रतिभा, सुन्दरता र आत्मविश्वासको बयान गर्दछ। हामीले उत्कृष्ट २५ को नामावली सार्वजनिक गरेपछि सबैले आ-आफ्नो रोजाइ र चाहना अनुसार "तेस्रो गीत यो बन्नुपर्छ" भनी आफ्नो मत राख्नुभएको थियो । बजारमा विभिन्न नामहरू अगाडी आइरहेका थिए तर हामी भने चलचित्रमा सुहाउँदो पात्रको खोजीमा नै केन्द्रित रह्ययौ ।'' भनेका छन् । गीतको भूमिकाको लागी नायिका फाइनल भएसँगै चलचित्रको  जम्बो टोली खडा भइसकेको छ । चलचित्रलाई सन्तोष सेन र विजय चामलिङ्ग मिलेर निर्माण गर्दै छन् । यतिबेलासम्म चलचित्रको लागी प्रदीप खड्का, मनिष राउत, शिव श्रेष्ठ, सन्तोष सेन, शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी पक्का भैसकेका छन् ।