‘एलजीबीटिआई’ समुदायले जुन महिनालाई ‘प्राइड मन्थ’ भनेर सेलिब्रेट गर्ने गरेको छ। यही अवसर पारेर प्रियंकाले महिनाको अन्तिम दिन आज सोही समुदायको प्रतिनिधित्व गर्ने वेब सिरिज 'जस्ट अनोदर लभ स्टोरी' को फस्ट लुक पोस्टर सार्वजनिक गरेकी छिन् । अभिनेत्री प्रियंका कार्कीले आफ्नो होम प्रोडक्सनको पहिलो कोसेली स्वरूप लेस्वियन कथामा आधारित सिरिज निर्माण गर्ने भएकी हुन् । यस सिरिज निर्माण पछाडिको प्रमुख उद्देश्य भनेकै दुई महिला बिचको प्रेम र सम्बन्धको स्वीकारोक्ति हो ।
प्रियंका भन्छिन्, ‘दुई युवती प्रेममा छन् भने यो कुनै ठुलो विषय नभई एकअर्काको प्रेम बुझ्ने वातावरण हुनुपर्छ ।’ शान थापाको कथा रहेकी सिरिजमा प्रियंकाको पटकथा र संवाद रहनेछ । आयुष्मान देशराज जोशी ‘डीओपी’ रहेका छन् । साथै सार्वजनिक पोस्टर पनि आयुष्मानले तयार पारेका हुन् । सिरिजमा सृष्टि श्रेष्ठ र प्रियंका कार्कीको मुख्य भूमिका रहने छ । ८ एपिसोड रहने सिरिज गाईजात्राको अवसर पारेर साउन ३१ गतेबाट युट्युबमा रिलिज हुने जानकारी प्रियंकाले दिएकी छिन् ।