आज अर्थात् असार १६ गते चलचित्र विकास बोर्ड नेपालले आफ्नो स्थापनाको १९ औँ वार्षिकोत्सव मनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाको उपस्थितिमा बोर्डले आफ्नै भवनमा आयोजना गरेको कार्यक्रममा विभिन्न चलचित्रकर्मीलाई सम्मान गरियो । १९ औँ वार्षिक उत्सवको अवसर पारेर चलचित्र विकास बोर्डले सेल्यूलाइड प्रविधिमा खिचिएका १० पुराना चलचित्र (आमा, हिजो आज र भोलि, जीवनरेखा, के घर के डेरा, सिन्दूर, परिवर्तन, मनको बाँध, कुमारी, बदलिँदो आकाश, शान्तिदीप) लाई डिजिटल प्रविधिमा समेत रूपान्तरण गरेको छ ।
यसै गरी कार्यक्रममा पहिलो नायिका भुवन चन्द, नायक भुवन केसी, नायक शिव श्रेष्ठ, निर्देशक लक्ष्मीनाथ शर्मा, निर्माता छविराज ओझा लगायत चलचित्र क्षेत्रको विभिन्न विधामा रहेर काम गरेका १९ जना विशिष्ट चलचित्रकर्मीहरूलाई सम्मान समेत गरिएको छ । वार्षिकोत्सवमा चलचित्र विकास बोर्डले आफ्नो कार्य योजना प्रस्तुत गरेको छ ।
कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले आफू चलचित्र क्षेत्रका विभिन्न सङ्घसंस्थासँग मिलेर काम गर्न सधैँ नै तयार भएको सुनाए । कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्षहरू यादव खरेल, निर शाह, शम्भुजित बास्कोटा, राजकुमार राई, कृष्ण मल्ल लगायत उपस्थित थिए ।