आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्र ‘छ माया छपक्कै’को छायाङ्कन सम्पन्न भएको जानकारी आएको छ । एउटा गीतको काम बाँकी राखेर निर्माण पक्षले अन्य कामको बिट मारेको हो । ३८ दिन लगाएर छायाङ्कन गरिएको चलचित्रको बाँकी गीत काठमाडौँमा नै छायाङ्कन गरिने निर्माता रोहित अधिकारीले बताएका छन् । दसैँमा रिलिज गर्ने तयारी गरिरहेको चलचित्रको ओभरसिज राइट्स विक्री भएको छ । निशान बजगाँइले चलचित्रलाई १ करोड १५ लाखको हाराहारीमा खरिद गरेको खुलेको छ ।
निशानले ब्रान्ड भ्यालु र कलाकारको भ्यालु हेरेर अहिलेसम्मकै धेरै रकम तिरेको बताएका छन् । अब विदेशमा यो चलचित्र रिलिज गर्न चाहनेले उनीसँग सहकार्य गर्नु पर्ने हुन्छ । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।