पछिल्लो समय नेपाली र जतपटमा निकै चर्चा परिचर्चामा आएको विषय हो बलिउडको प्रतिष्ठित 'आइफा अवार्ड' । आइफाको २०औँ संस्करण नेपालमा आयोजना हुने र खर्च पनि नेपालले नै गर्ने निर्णय भए पछि नेपाली सिने कर्मी देखी आम सर्वसाधारणको चासोको विषय बनेको छ । यस विषयलाई प्राथमिकता दिँदै आयोजित विभिन्न कार्यक्रमहरूमा समेत यो विषय बहसमा आइरहेको छ । यसैबिच सोमबार चलचित्र विकास बोर्डको १९ औँ वार्षिकोत्सवमा समेत यो विषयले ठुलो ठाउँ पायो । कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले यस विषयमा खुलेर बोलेका छन् । अवार्डका लागि अनुमति दिएको तर बजेट भने उपलब्ध गराउने निर्णय नगरेको स्पष्ट पार्दै मन्त्री गोकुल बास्कोटाले भने, ‘आइफा अवार्डलाई सरकारले १ रुपैयाँ पनि दिने निर्णय गरेको छैन' । सरकारले एक अर्ब रुपैयाँ दिने कुरा आफ्नो कानले समेत नसुनेको भन्दै थाहा नभएको कुरा धेरै बोल्नु हुँदैन, ‘सरकारले पैसा दिएको छैन, दिने निर्णय पनि गरेको छैन' । काठमाडौँ महानगरपालिका र सरकारले सक्ने किसिमको सहयोग गरे पनि पैसाको विषयमा अनावश्यक हल्ला नफैलाउन उनले आग्रह समेत गरे ।

यद्यपि सरकारका प्रवक्ताले यसो भनेको २४ घण्टा नबित्दै प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालमा गरिने भनिएको आइफा अवार्ड सम्बन्धी सम्पूर्ण कार्य तत्काल रोक्न निर्देशन दिएको छ । सिंहदरबारमा मङ्गलवार बसेको समितिको बैठकले नेपालको सांस्कृतिक स्वत्व र राष्ट्रिय हितमा प्रतिकूल असर पार्ने उद्देश्यबाट उक्त कार्यक्रम प्रेरित भएको भन्दै कार्यक्रम रोक्न सरकारलाई निर्देशन दिएको हो । नेपाल सरकारले व्यहोर्नपर्ने आर्थिक दायित्व अत्यन्तै अनुचित र अस्वाभाविक किसिमले ठुलो भई नेपालको आर्थिक अवस्थाको दृष्टिकोणबाट उचित नदेखिएको समितिको निष्कर्ष निकाल्दै तत्कालको लागी अवार्डसम्बन्धी कार्य तत्काल रोक्न संसदीय समितिको निर्देशन जारी भएको हो ।