श्रीलङ्कामा आयोजना भइरहेको 'सार्क फिल्म फेस्टिभल' मा सहभागी हुन अभिनेत्री स्वस्तिमा खड्का यति बेला श्रीलङ्कामा छिन् । उनी अभिनीत चलचित्र ‘बुलबुल’ फेस्टिभलमा प्रदर्शन भएको छ । फेस्टिभलको पहिलो दिन 'बुलबुल'सँगै बलिउड चलचित्र ‘पद्मावत’ प्रदर्शन गरिएको थियो । विनोद पौडेलको निर्देशनमा निर्माण भएको ‘बुलबुल’ सफल चलचित्रमा गनिन्छ । दर्शक तथा समीक्षकले चलचित्रलाई सकारात्मक प्रतिक्रिया दिएका थिए । यस चलचित्र स्वस्तिमाको करियरको एक उत्कृष्ट चलचित्रको रूपमा हेरिन्छ ।
स्वस्तिमाले फेस्टिभलबारे जानकारी दिँदै पहिलो दिन निकै उपलब्धिमूलक भएको जानकारी दिएकी छिन् । चलचित्रको प्रदर्शन पछि ३ भिन्न देशका जुरीहरूको बिचमा प्रश्नोत्तर कार्यक्रम पनि सम्पन्न भएको र चलचित्रलाई राम्रो प्रतिक्रिया पनि मिलेको बताइएको छ । 'बुलबुल'का साथमा नेपालबाट चलचित्र ‘प्रसाद’ पनि छानिएको छ । २ जुलाईमा सुरु भएको उक्त फेस्टिभल ७ जुलाईसम्म चल्नेछ।