आगामी असार २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘सानो मन’ निर्माण टिम यति बेला प्रचारप्रसारको दौरानमा छ । देशव्यापी रूपमा प्रचारप्रसारको लागी दौडधुप गरिरहेको चलचित्रको टिमले गायन कन्टेस्टको घोषणा गरेको छ । चलचित्रको शीर्ष गीत गाएको भिडियो जोकोहिले पठाउन सक्ने र आएका भिडियोबाट एक उत्कृष्ट गीत छनौट गरिने र उक्त व्यक्तिले गायक रोहितजोन क्षेत्रीसँग गीत गाउने अवसर पाउने गरी कन्टेस्टको घोषणा भएको हो । निर्णायकमा गायक क्षेत्री स्वयं छन् र नयाँ प्रतिभालाई प्रोत्साहन गर्न यो कन्टेस्टको घोषणा गरिएको निर्माण टिमले बताएको छ । चलचित्रको गीत र ट्रेलर समेत सार्वजनिक भइसकेको छ जसलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।
ओ.पी जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा चलचित्र निर्माण भएको हो । समीर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको ‘सानो मन’ लाई आलोक शुक्लाले छायाङ्कन गरेका छन् । साथमा चलचित्रका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के । मित्तल र राजेन्द्र मानन्धर हुन् । चलचित्रको शीर्ष गीतमा रोहित जोन क्षेत्रीको स्वर तथा स्वप्निल शर्माको शब्द छ भने सङ्गीत सुयोग सोताङले गरेका छन् ।