लमजुङको बेंशीसहर नगरपालिकामा निजी क्षेत्रबाट अत्याधुनिक प्रविधिसहितको ‘स्मार्ट फिल्म सिटी’ निर्माण हुने भएको छ। नेपाल सरकारले काठमाडौँ उपत्यकामा सुविधा सम्पन्न इन्डोर फिल्म स्टुडियो निर्माण गर्ने तयारी गरिरहँदा निजी क्षेत्रको लगानीमा पाँच हजार रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको ‘स्मार्ट फिल्म सिटी’का लागि बुधवार नेपालको स्काइ इन्टरटेनमेन्ट प्रा.लि. र इटालियन निर्माण कम्पनी वर्ल्ड एरिया होल्डिङ् एसआरएलबीच सम्झौता भएको छ । नेपालको पहिलो, ठुलो र अन्तर्राष्ट्रिय स्तरको उक्त फिल्म सिटीका लागि अनुमानित ५ अर्ब ९० करोड लाग्ने स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्टका अध्यक्ष आकाश अधिकारीले जानकारी दिएका छन् । दुई हजार ६० मिटरदेखि दुई हजार ९०० मिटरको उचाइमा निर्माण हुने भनिएको यो सिटी विश्वकै अग्लो स्थानमा भएको स्मार्ट फिल्म सिटी हुनेछ। चाँडै फिल्म सिटीको डिपिआरको काम हुने सम्झौता कार्यक्रममा वर्ल्ड एरियाका प्रमुख फ्रानसिस्को सिग्निरियल्लोले जानकारी दिए । निर्माण सुरु भएको ५ देखि ७ वर्षमा काम सम्पन्न हुने अनुमान गरिएको छ ।

उक्त परियोजनाअन्तर्गत १६ वटा चलचित्र छायाङ्कन स्थल निर्माण गर्न सकिने भए पनि पहिलो चरणमा भने १२ वटा निर्माण गरिने जनाइएको छ। परियोजनाभित्र तारे होटेल, चलचित्रको अध्ययन गर्ने कलेज, केबुलकार, अर्ग्यानिक फार्म, विभिन्न खेलकुद स्थल तथा विभिन्न देश र नेपालको मौलिक पहिचान बोकेका भौतिक संरचना नमुनाका रूपमा निर्माण गरिनेछ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको उक्त समारोहमा आफ्ना भनाइ राख्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले ‘स्मार्ट फिल्म सिटी’ नेपालको चलचित्र क्षेत्रकै लागि ‘माइल स्टोन’ भएको बताए । ‘वर्ल्ड स्काइ सिने भिलेज नेपाल’को नाममा निर्माण हुने फिल्म सिटीमा विश्वस्तरको प्रविधि प्रयोग गरेर फिल्म छायाङ्कन गर्ने स्टुडियो बनाइनेछ । साथमा गल्फ, बञ्जीजम्प, प्याराग्लाइडिङ र स्वीमिङ पुलसमेत बन्नेछ। परियोजना सम्पन्न हुनासाथ आउट डोर र इन्डोर सबै छायाङ्कन गर्न सकिने अध्यक्ष अधिकारीले बताए।