यति बेला निर्देशक प्रदीप भट्टराई निर्देशित चलचित्र 'जात्रै जात्रा' प्रदर्शनको ५१औँ दिनको सँघारमा छ । प्रदीप भट्टराईका पछिल्लो समयमा बनेका चलचित्रले दर्शक तथा समीक्षकको राम्रो साथ पाए । मह सञ्चारमा डेढ दशक काम गरेर अनुभव सँगालेका प्रदीपले चलचित्र 'जात्रा' मार्फत निर्देशनमा डेब्यु गरे । जसबाट उनको हाइप निकै माथि पुग्न सफल भयो । दोस्रो चलचित्र 'शत्रु गते'ले पनि बक्स अफिसमा उत्कृष्ट प्रमाणित भयो । साथमा तेस्रो चलचित्र 'जात्रै जात्रा'ले पनि दर्शकको अपार माया पायो । ठुलो पर्दामा एक पछि अर्को सफलता पाएका उनी अब सानो पर्दामा देखिने भएका छन् । केही समयपछि सुरु हुने 'कमेडी च्याम्पियन'मा निर्देशक भट्टराईले निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । चलचित्र वृत्तदेखि दर्शकले समेत उनको ह्युमर को प्रशंसा गर्ने गर्छन् । छोटा अनि तिखा व्यङ्यलाई पस्कनु उनको खुबी हो ।  उनीसँगै पुराना हास्यकलाकार सन्तोष पन्त पनि निर्णायकको रूपमा रहेका छन् ।