चलचित्र 'म यस्तो गीत गाउँछु'को सिक्वेल 'म यस्तो गीत गाउँछु २' निर्माण २ वर्ष अगाडि नै हुने भनिए पनि अहिले आएर चलचित्र निर्माणको लागी निर्देशक सुदर्शन थापा लागिपरेका छन् । आगामी फागुन २३ लाई रिलिज मिति तय गरेर अगाडी बढेको निर्माण पक्षले छायाङ्कन भने दसैँपछि सुरु हुने जानकारी दिएको छ । अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाह अभिनीत चलचित्र ‘म यस्तो गीत गाउँछु’ ले राम्रो व्यापार गरेपछि निर्देशक थापाले आफ्नो जन्मदिनमा सिक्वेल घोषणा गरेका थिए, जसमा पूजा र पलसँगै अभिनेता सलोन बस्नेतको अभिनय रहने जानकारी गराइएको थियो । तर दुई वर्ष पछि निर्माण हुन लागेको सोही चलचित्रमा यो जोडी लिएर काम गर्ने मनस्थितिमा सुदर्शन नभएको बुझिएको छ । उनले कुराकानीमा भनेका छन्, नयाँ जोडी लिने वा पल र पूजा नै दोहोर्‍याउने भन्नेमा निर्णय लिन सकेको छैन ।' तर यति बेला उनले अभिनेता अनमोल केसीलाई ‘म यस्तो गीत गाउँछु २’ अफर गरेको चर्चा चलिरहेको छ ।

अनमोलले स्क्रिप्ट पनि पढिसकेको खबर आएको छ । अनमोल पनि निर्देशक सुदर्शनसँग काम गर्न इच्छुक भएको कुरा केही समय अघि खोलेका थिए । चलचित्र 'प्रेमगीत'मा पनि सुदर्शनले प्रदीपलाई भन्दा पहिले अनमोललाई नै अफर गरेका थिए तथापि उनले 'प्रेमगीत'मा काम गर्न सकेनन् । प्रेम कथालाई निकै सुन्दर तरिकाले प्रस्तुत गर्न सिपालु सुदर्शनले युवा स्टार अनमोल लाई आफ्नो चलचित्रको मुख्य हिस्सा बनाउलान् कि हल्ला हल्लामै सीमित हुने हो त्यी हेर्न बाँकी नै छ ।