आधुनिक गीत सङ्गीतामा कहिल्यै बिर्सिन नसकिने नाम हो सुगम पोख्रेल उनै सुगम यति बेला आफ्नै दुनियाँमा गीत अनि सङ्गीतसँग रमाइरहेका छन् । रमाउनु मात्र होइन बेला बेला उनलाई माया गर्ने सङ्गीत प्रेमीहरू माझ पनि कोसेली स्वरूप गीतहरू लिएर आउने गर्छन् । उनै सुगमले आफ्नो नयाँ गीत 'कसरी सम्झाऊँ' लिएर आएका छन् । सुगमकै शब्द अनि सङ्गीत रहेको गीतको भिडियो सहित सार्वजनिक गरिएको हो । फरक शैलीको गीत गाएर लामो समय देखी दर्शकको मन जितिरहेका सुगमको यस गीत अहिलेसम्म उनले गाएको गीत भन्दा अलि फरक स्वादको रहेको छ । 'स्वेत हंसिनी' एल्बममा रहेको गीतलाई एरेन्ज, मिक्सिङ अनि रेकर्डिङ शैलेन्द्र एम प्रधानले गरेका हुन् । गीत भिडियोसँगै सुगमकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो भने भिडियोको निर्देशन पनि सुगम आफैले गरेका हुन् । मिठो सङ्गीत अनि सुन्दर शब्दमा सजिएको गीतको भिडियोमा सुगमको उपस्थिति रहेको छ ।

गीत सङ्गीतको मूल नै माया प्रेम हो भन्दा कुनै नौलो कुरा नहोला तर मुख्य कुरा भनेकै त्यही माया प्रेम अनि मनको भावनालाई कसरी कुन तरिकाले प्रस्तुत गर्न सकिन्छ भन्ने हो । मायालाई अनि आफ्नो आभासलाई गीतका सुन्दर लय अनि भावनामा कैद गर्दै सुगमले आफ्नी प्रेमिका सामु कसरी मनको कुरा व्यक्त गरूँ भन्ने भाव गीतमा पोखेका छन् । सरोबर कसजुले 'कसरी सम्झाऊँ'को भिडियो खिचेका हुन् भने सुप्रीम पराजुलीले भिडियोलाई सम्पादन गरेका हुन् ।