तपाईँले कोही मन नपर्ने मान्छेलाई उसको पछाडि गाली गर्दा अथवा उसको खिल्ली उडाउँदा प्रयोग गर्ने नाम उही व्यक्तिले तपाईँ सामु हाँस्दै आफूलाई सोही नामले चिनाउँछ भने तपाईँलाई कस्तो लाग्ला ? शुक्रवार राजधानीको सिभिल मलमा यस्तै घटना घट्यो । कुरा हो असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सानो मन’ को । प्रदर्शनको मिति नजिकिँदै जाँदा चलचित्र युनिटले प्रचारप्रसारको गतिलाई तीव्रता दिएको छ । यही क्रममा शुक्रवार दिउँसो निर्माण टिमले राजधानीको सिभिल मलमा प्रमोसनल कन्सर्टको आयोजना गरेको थियो । कन्सर्टमा प्रमुख कलाकारहरू आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, निर्देशक सुयोग गुरुङले तथा गायक रोहित जोन क्षेत्रीको पनि उपस्थिति रहेको थियो । महिला फ्यान धेरै भएका आयुष्मानलाई भेट्ने र सेल्फी खिच्न मरिहत्ते गर्नेको कुनै कमी थिएन । जति नै फ्यान फलोअर्स भए पनि जो कोही कोहिलाई मन नपराउने केही त हुन्छन् नै । र त आयुष्मानलाई मन नपराउने केहिले उनको नाम 'चुसेको आँप' राखिदिएका छन् जुन कुरा उनलाई राम्रोसँग थाहा छ । तर उनी यसलाई ठुलो मान्दैनन् । कार्यक्रममा उनले आफूमाथि मजाक गर्नेलाई र नाम जुराइदिनेलाई लक्षित गर्दै ‘म चाहिँ ‘चुसेको आँप’ भन्दै आफ्नो परिचय गराए ।

सुन्नेलाई रमाइलो लाग्ला र त उनको बोली नसक्किँदै हाँसोले सबै कुरा मन्द बनाइदियो तर यो कटाक्ष भित्र कति नमिठो आभास अनि नरमाइलो लुकेको होला त्यो भोग्नेले मात्र अनुभव गर्न सक्छ । कार्यक्रममा रमाइलो त छँदै थियो कलाकारहरू आफ्नो भूमिका र चलचित्रमा काम गर्दा आफूले नछोडेको कसरत व्यक्त गर्दैमा व्यस्त देखिन्थे । आफूले मिहिनेत गरेर काम गरेको र काम ले दर्शकलाई निराश नबनाउने आयुष्मान देखी शिल्पा र डेब्यु कलाकार सक्षमको भनाइ रहेको थियो । यो सँगै राजधानीका केएल टावर, विजी मल, लबिम मल, सिटी सेन्टरमा पनि फिल्मको जानकारी गराउन साङ्गीतिक कन्सर्ट गरिने निर्देशक गुरुङले बताएका छन् ।

सानो मन'को प्रमोसनल कन्सर्टमा ‘चुसेको आँप’ भन्दै चिनाए आयुष्मानले

ओ .पी.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको चलचित्रमा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ । चलचित्रलाई योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के । मित्तल र राजेन्द्र मानन्धर ले निर्माण गरेका हुन् ।

सानो मन'को प्रमोसनल कन्सर्टमा ‘चुसेको आँप’ भन्दै चिनाए आयुष्मानले