यो हप्ता नेपाली राजतपटमा छुट्टै किसिमको माहोल सृजना भएको थियो । न कुनै हल्ला न कुनै कन्ट्रोभर्सी । चलचित्र क्षेत्रमा सानोतिनो उत्सब त जहिल्यै भैरहेकै हुन्छ । यसै गरी यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गती लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
नेपाली रजतपट होस् या हास्यव्यङ्ग्य क्षेत्रमा राता मकैको उपनामले चिनिने किरण केसी असार १५बाट ६२ वर्षमा प्रवेश गरे । कलाकारितामा जीवनको अन्तिम समयसम्म लागिरहन पाउँ भन्ने उनको जन्म दिनमा नेपाली हास्य व्यङ्य जगत् लगायत चलचित्र क्षेत्रका कलाकारको उपस्थितिमा रहेको थियो र यसैबिच उनले आफ्नो जन्मदिन मनाए ।
असार १६ गते चलचित्र विकास बोर्ड नेपालले आफ्नो स्थापनाको १९ औँ वार्षिकोत्सव मनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाको उपस्थितिमा बोर्डले आफ्नै भवनमा आयोजना गरेको कार्यक्रममा विभिन्न चलचित्रकर्मीलाई सम्मान गरियो । १९ औँ वार्षिक उत्सवको अवसर पारेर चलचित्र विकास बोर्डले सेल्यूलाइड प्रविधिमा खिचिएका १० पुराना चलचित्रलाई डिजिटल प्रविधिमा समेत रूपान्तरण गरेको छ ।
चलचित्र ‘सरौतो’को पहिलो गीत 'कुले दाइ' सार्वजनिक भएको छ । कार्तिक २२ गतेलाई प्रदर्शनको मिति तोकेर तयारीमा लागेको चलचित्रको उक्त गीत निर्देशक हरि हुँमागाईको जन्मदिनको अवसर पारेर सार्वजनिक गरेको हो । तस्बिरमा 'सरौतो' कि नायिका सुमी मोक्तान गीत रिलिज कार्यक्रमको दौरानमा ।
‘एलजीबीटिआई’ समुदायको सम्मान गर्दै जुन महिनाको अन्तिम दिन अर्थात् प्राइड मन्थको अन्तिम दिन पारेर अभिनेत्री प्रियंका कार्कीले लेस्बियन कथामा आधारित वेब सिरिज निर्माण गर्ने घोषणा गरेकी थिइन् । दुई महिला बिचको प्रेम र सम्बन्धको कथा बोकेको वेब सिरिज 'जस्ट अनोदर लभ स्टोरी'को प्रोडक्सनको काम भइरहेको छ । सिरिजमा सृष्टि श्रेष्ठ र प्रियंका कार्कीको मुख्य भूमिका रहने छ । तस्बिरमा यी दुई मुख्य कलकारको छायाङ्कनको केही झलक ।
पछिल्लो समयका चर्चित बाल कलाकार अनुभव रेग्मीको जन्मदिनको अवसरमा आफ्ना परिवार र कलाकार तथा उनका शुभ चिन्तकको उपस्थितिमा जन्मोत्सव कार्यक्रमको आयोजना गरिएको थियो । आफ्नो अभिनयले दर्शकलाई भावुक बनाउनेदेखि मन छुने काम गर्न सफल अनुभवको 'नाइँ न भन्नु ल ५'को अभिनयलाई दर्शकले तारिफ गर्न छुटाउँदैनन् ।
निर्देशक विशाल भण्डारीले पहिलो पटक नेपालमा स्ट्याण्डप कमेडी रियालिटी शोको आयोजना गर्ने भएका छन् । अडिसनको तयारीमा रहेको यो कमेडी रियालिटी शोको बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच घोषणा गरेको थियो । ‘कमेडी च्याम्पियन’ नाम दिइएको यस रियालिटी सो कान्तिपुर टेलिभिजनबाट आगामी गाईजात्राको अवसर पारेर प्रसारण सुरु गरिनेछ । शो मा वरिष्ठ हास्य कलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराईलाई निर्णायक मण्डलमा छन् ।
नेपाल आइडलका गोल्डन माइक विजेता तथा दर्शकको मन जित्न सफल सुमित पाठक आफ्नो पहिलो गीत 'समाचार' लिएर आएका छन् । काली प्रसाद बास्कोटाको शब्द सङ्गीत रहेको गीतको भिडियो सहित बिहीबार जी 21को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । तस्बिरमा गीत रिलिज कार्यक्रममा सुमित लगायत टिम ।