जेठ ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र 'जात्रै जात्रा'ले सफलतापूर्वक प्रदर्शनको ५१औँ दिन मनाएको छ । प्रदीप भट्टराई निर्देशित ‘जात्रै जात्रा’ ले एक्यूएफएक्स चेन, बिग मुभिज, अष्टनारायण, एफक्यूब, गुण सिनेमा, गोपी र विएसआर मुभिजमा ५१ दिन सफलतापूर्वक पार गरेको हो । यसै खुसीयालीमा शनिवार निर्माण टिमले राजधानीका विभिन्न हलमा पुगेर दर्शकलाई धन्यवाद दिने कार्यक्रम राखेको छ । साथमा साँझ कलाकार तथा पत्रकारबिच सेलिब्रेसन पार्टीको आयोजना गरेको छ । घरेलु बजारबाट साढे ९ करोडको ग्रस कलेक्सन गरेको अनुमान गरिएको छ भने चलचित्र यस वर्षको सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा सूचीकृत हुन सफल भएको छ ।

समीक्षात्मक र व्यावसायिक दुवै सफलता चुमेको यस चलचित्रसँगै निर्देशक भट्टराईका तीन चलचित्रले सफल ५१औँ दिने यात्रा पार गरेको छ । उनी निर्देशित 'जात्रा' र 'शत्रु गते' ले पनि बक्सअफिसमा बम्पर व्यापारसँगै हलमा ५१ दिन मनाएका थिए । विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउतलगायतका कलाकारहरूको अभिनय रहेको जात्रै जात्राका कलाकारको कामलाई पनि खुलेर प्रशंसा मिलेको छ ।