पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत चलचित्र 'रामकहानी' असार २० गते युट्युबमा रिलिज भएको छ । सुदर्शन थापाको कथा तथा निर्देशन रहेको चलचित्र २०७५ भदौमा प्रदर्शनमा आएको थियो । चलचित्र युट्युबमा रिलिज भएको दुई दिनमा नै साढे १७ लाखले हेरिसकेका छन् भने यति बेला ट्रेन्डिङको तीन नम्बरमा पर्न सफल भएको छ । चलचित्रलाई दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् भने पूजा र आकाशको जोडीको प्रशंसा पनि दर्शकले गरिरहेका छन् । 'रामकहानी' लाई बुढासुब्बा डिजिटलले रिलिज गरेको हो । कमेडी लभ स्टोरी जनरामा बनेको यस चलचित्रमा केदार घिमिरे, जितु नेपाल, विल्सनबिक्रम राई, रविन्द्र झा, राजाराम पौडेल, शिशिर राना, विशाल पहारी, सुनिता श्रेष्ठ ठाकुर, सोभित बस्नेतलगायतका कलाकारको पनि अभिनय छ । 
 

यसै गरी असार २० गते नै चलचित्र 'फाटेको जुत्ता पनि युट्युबमा रिलिज गरिएको थियो । २०७४ कार्तिकमा रिलिज भएको 'फाटेको जुत्ता'लाई अर्जुन कुमारले निर्माण गरेका हुन् भने निकेश खड्काले निर्देशन गरेका हुन् । चलचित्रमा प्रियंका कार्की सौगात मल्ल, बुद्धि तामाङ, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारको अभिनय छ । हाइलाईट्स नेपालले युट्युबमा रिलिज गरेको चलचित्रलाई यतिबेलासम्म सवा १७ लाख बढिले हेरिसकेका छन् भने ट्रेन्डिङको नम्बर दुईमा छ । चलचित्र हेरेका दर्शकले चलचित्रलाई निकै नै रुचाएको प्रतिक्रिया दिएका छन् ।