अभिनेत्री प्रियंका कार्की वर्षमा कति वटा चलचित्रमा काम गर्छिन् त्यो त उनलाई आउने अफरमा भर पर्छ तर यति बेला उनले नायिकाको भूमिका सम्हालेका चलचित्र वा भनौँ चलचित्रको मुख्य अंश बनेर खेलेका चलचित्रले सन्तोषजनक व्यापार गर्न सकिरहेका छैनन् । केही हप्ता अघि रिलिज भएको चलचित्र 'प्रेम दिवस' यसको ताजा उदाहरण हो । बजारमा उनको हाइप जति छ त्यो अनुसार हेर्ने हो भने उनी अभिनीत चलचित्र सुपर हिट हुनुपर्ने हो तर कमजोरी चलचित्र कै हो या उनको त्यो छुट्ट्याउने दर्शकले हो । यति बेला आफ्नै निर्माण, निर्देशन र अभिनय समेत रहेको वेब सिरिजमा व्यस्त प्रियंका शिवहरि पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र ‘लक्का जवान’ मा अनुबन्धित भएकी छिन् । बुधवार सह-निर्माता किरण केसीको उपस्थितिमा उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको छ ।
चलचित्रमा उनको भूमिका के हुने बारे भने जानकारी गराइएको छैन । ‘लक्का जवान’ मा अझै दुई अभिनेत्रीको प्रवेश हुने भनिएको छ भने निर्माण पक्षले सह-निर्माता दिलीप रायमाझीकी छोरी दिव्यालाई अफर गरेका छन् । तर यस विषयमा औपचारिक निर्णय भने भैसकेको छैन । आमा बङ्गालमुखी फिल्म प्रोडक्सन प्रा.ली.को ब्यानरमा निर्माण हुने ‘लक्का जवान’ मा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ ।