हास्य अभिनेता हरिवंश आचार्य कुशल अभिनेता मात्र नभएर यथार्थता, जीवनको भोगाइ र समयको मर्म बुझेर गीत गाउने गायक पनि हुन् भन्न कुनै शङ्का नै मान्नु पर्दैन । उमेरले ६० कटिसकेका उनीमा न काम गर्ने उत्साह घटेको छ न उनको काममा थकान र बुढ्यौलीको आभास हुन्छ । यिनै कुशल अभिनेताले बुढ्यौलीका दिनहरू, मनमा उत्साह अनि जाँगर भए पनि शरीरले अगाडी बढ्न नदिने दिनहरूको कल्पना गर्दै 'बुढो हुन मन छैन' शिर्षकको गीत सार्वजनिक गरेका छन् । बुढ्यौलीको अनुभूति समेटिएको गीत हरिवंशले बुढ्यौली आवाजमा गाएका छन् ।
गीतमा जवानीका दिनहरूका रमाइला पलहरूको मिठो सम्झना र तितो यथार्थको आभास भेटिन्छ । गीतको भिडियो सहित मह सञ्चारको युट्युब च्यानलबाट शुक्रवार सार्वजनिक गरिएको हो । भिडियोमा हरिवंश आफै फिचर्ड छन् भने निर्देशन सुदन केसीले गरेका हुन् । गीतलाई जीवित जलामीले एरेन्ज गरेका हुन् भने भिडियोलाई दिर्घ गुरुङले खिचेका हुन् र नहकुल खड्काले सम्पादन गरेका हुन् ।