गायक कमल रसाइली र गायिका मेलिना राईको आवाजमा गीत ‘एनी प्रोब्लेम' सार्वजनिक भएको छ । कार्टुन क्रुको आधिकारिक युट्युब च्यानलबाट भिडियो सहित सार्वजनिक गरिएको गीतमा टेकु क्षेत्रीको शब्द तथा हरि लम्सालको सङ्गीत दिएका छन् । डान्सिङ नम्बरको रूपमा तयार भएको गीतको भिडियोलाई दि कार्टुन क्रुले तयार पारेको हो । भिडियोमा कार्टुन क्रुको टिमलाई नै देख्न सकिन्छ । जसमा आश्मा विश्वकर्मा र सुविन चौहानले कोरियोग्राफी गरेका हुन् । यसै गरी सरोज अधिकारीको निर्देशन रहेको भिडियो निर्माण टिमले कभर भिडियो प्रतिस्पर्धा समेत आयोजना गरेको छ ।

सेप्टेम्बर ३ सम्म भिडियो तयार पारेर पठाउन सकिनेछ । नोभेम्बर १५ मा कभर भिडियोको नतिजा सार्वजनिक गरिने बताइएको छ । विजेताले ५० हजार नगद र दि कार्टुन क्रु जुनियरसँग नयाँ भिडियोमा नृत्य गर्न पाउने बताइएको छ ।