अभिनेता भुवन केसी पछिल्लो समय अभिनय भन्दा पनि चलचित्रको निर्माणमा नै व्यस्त देखिन्छन् । छोरा अनमोलको फिल्मी कारीयर सेट गर्न जिउ ज्यान लगाएर लागिपरेका भनिएका भुवन यती बेला आफूलाई अलि फरक स्वरूपमा ढाल्दै गइरहेका छन् । भर्खर चलचित्र 'मिस्टर नेपाली' को छायाङ्कन सक्काएर दिइएको एक पार्टीमा भुवन अलि फरक अवतारमा देखिएका थिए । फुलेको दाह्री र जुँगामा अनुहारमा बुढ्यौली आभास हुने गरी उनी उपस्थित भएका थिए । आफूलाई यस रूपमा तयार गर्नुको पछाडिको कारण भनेको सात वर्ष पछि उनी अभिनयमा फर्किने तयारी नै हो । सम्भवतः दशैपछि छायाङ्कन सुरु हुने चलचित्रको यति बेला स्क्रिप्टमा काम भइरहेको छ । चलचित्रलाई उनी आफैँले निर्देशन गर्न सम्भावना प्रबल रहेको पनि स्रोतले जनाएको छ ।

चलचित्रमा भिलेनको भूमिकामा देखिन लागेका कारण दाह्री पालेको बताउँदै उनी भन्छन्, 'धेरैले मलाई दाह्री किन पालेको भनेर सोधिरहेका छन् । म चाँडै नयाँ फिल्ममा अनमोल केसीसँग पुरै नेगेटिभ रोलमा आउँदै छु । यो दाह्री अझै बढाउनु पर्ने छ ।' पहिलो पटक भुवन र अनमोल ले चलचित्रमा स्क्रीन साझेदारी गर्दै छन् जसमा अनमोल हिरो र भुवन भिलेनको भूमिकामा हुनेछन् ।